हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाको दिन श्रद्धा, भक्ति र सम्मानको विशेष पर्व गुरु पूर्णिमा मनाइन्छ।
यो पर्व हिन्दू, बौद्ध र जैन धर्ममा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले हाम्रो जीवनमा गुरुको भूमिका र योगदानप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ।
गुरु पूर्णिमाको महत्व मुख्यतः वेदव्यास ऋषिको स्मृतिमा जोडिएको छ। मान्यतानुसार यही दिन ऋषि वेदव्यास जन्मिएका थिए। उनले वेदहरूलाई चार भागमा विभाजन गरी लिपिबद्ध गरे, साथै महाभारत जस्तो विश्वको सबैभन्दा ठूलो काव्य ग्रन्थको रचना गरे। त्यसैले यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ।
बौद्ध धर्मावलम्बीहरूका लागि पनि यो दिन विशेष छ, किनभने भगवान बुद्धले आफ्नो पहिलो उपदेश सर्नाथमा यहीं दिन दिएका थिए – जसलाई धर्मचक्र प्रवर्तन दिवसको रूपमा मनाइन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ हटाउने भन्ने मानिन्छ।
गुरु भनेको त्यो व्यक्ति हो जसले अज्ञानताको अन्धकार हटाएर जीवनमा ज्ञानको प्रकाश ल्याउँछ। हाम्रो जीवनमा शिक्षाका प्रारम्भिक दिनदेखि लिएर नैतिक मूल्य, संस्कार, अनुशासन र आत्मविश्वास सिकाउने व्यक्ति गुरु नै हुन्।
आजको आधुनिक युगमा ‘गुरु’ को स्वरूप फरक देखिए पनि, उनीहरूको योगदानमा कुनै कमी आएको छैन। विद्यालयका शिक्षकदेखि लिएर जीवनका विविध क्षेत्रमा मार्गदर्शन गर्ने हरेक व्यक्ति कुनै न कुनै रूपमा गुरु नै हुन्।
गुरु पूर्णिमाको दिन शिष्यहरूले आफ्नो गुरु वा शिक्षकको पूजा, सम्मान, माला अर्पण, र मनदेखि धन्यवाद व्यक्त गर्छन्। विद्यालयहरूमा गुरु वन्दना, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह जस्ता विविध कार्यक्रम आयोजना गरिन्छ। साधु-सन्तहरूका आश्रममा विशेष प्रवचन, ध्यान र साधनाको आयोजना हुन्छ।
धेरैले यो दिन उपवास बस्ने, धार्मिक ग्रन्थको पाठ गर्ने, वा सेवा कार्यमा सहभागी हुने परम्परा पनि निभाउँछन्।
गुरु पूर्णिमा केवल धार्मिक पर्व मात्र नभएर आध्यात्मिक चेतनाको उज्यालो हो, जुन हामीलाई सिकाउँछ – जीवनको यात्रामा एक सच्चा गुरुको साथ कति महत्वपूर्ण हुन्छ। हरेक सफल व्यक्तिको जीवनमा कुनै न कुनै गुरुको अमिट छाप हुन्छ।
आज हामीलाई शिक्षाको व्यावसायिकरण भन्दा पनि सत् शिक्षा र सच्चा मार्गदर्शन दिने गुरुलाई सम्मान गर्नुपर्ने आवश्यकता छ।
गुरु बिना ज्ञान अधुरो हुन्छ,
गुरु बिना जीवन दिशाहीन हुन्छ।
सच्चा गुरु नै हो, जीवनको असली ज्योति।
गुरु पूर्णिमा आत्ममूल्यांकन र कृतज्ञताको दिन हो। यो पर्व हामीलाई स्मरण गराउँछ कि ज्ञान, संस्कार र सद्गुणहरूको बीजारोपण गर्ने गुरुहरूको सम्मान गर्नु केवल एक परम्परा होइन, एक संस्कृति हो – जुन पुस्तौंपुस्तासम्म जीवित रहनु आवश्यक छ।