सुनसरी, सुनसरी र झापामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
सुनसरीको इनरुवा नगरपालिका–३ मा बुधबार निर्माणाधीन पक्की घरको छत ढलान गर्ने क्रममा फलामको डण्डी बिद्युतको नाङ्गो तारमा छोइएपछि करेन्ट लाग्दा बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्दकुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी घाइते भएका थिए।
उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा नन्दकुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको हो भने श्रवण चौधरीलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर पठाइएको छ।
त्यसैगरी, झापाको गौरादह नगरपालिका–७ की ७७ वर्षीया तेजकुमारी उप्रेतीलाई आफ्नै गाईगोठमा कुटी काट्ने क्रममा बिद्युत सटिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।