धरान, लामो समयपछि धरानमा रंगकर्मलाई पुनः सक्रिय बनाउँदै अनाम रंगमञ्च सञ्चालनमा आएको छ।
समसामयिक सामाजिक विषयवस्तुलाई नाटकमार्फत उठान गर्ने उद्देश्यसहित रंगमञ्चलाई औपचारिक रूपमा अघि बढाइएको अध्यक्ष तथा लेखक–निर्देशक विजय संयोग सुब्बाले बताएका छन्।
अनाम रंगमञ्चको प्रस्तुतिमा ‘देश खोजिरहेको छ’ नाटक यही असोज २८ गते बुधबार दिउँसो ४ बजे हरियाली सामुदायिक वन, धरानमा प्रदर्शन हुने भएको छ। नाटकको टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ।
नाटकमा किसानको पसिना, युवाको सपना, बेरोजगारी, विदेशिनुपर्ने बाध्यता, नागरिकका पीडा, सेवाग्राहीका समस्या तथा कर्मचारीले भोगिरहेका जटिलतालाई कथामार्फत प्रस्तुत गरिएको छ।
समाजमा देखिएका विकृति र विसंगति माथि प्रश्न उठाउँदै दर्शकलाई नाटक सकिए पछि पनि सोच्न बाध्य बनाउने प्रयास गरिएको याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नवीन मेन्याङ्बोले बताए।
उनका अनुसार नाटकले कुनै व्यक्ति वा पक्षलाई दोषी ठहर गर्नेभन्दा पनि समाजका वास्तविक समस्यामाथि प्रश्न उठाएको छ।
नाटकमा शारदा शाक्य, कुलचन्द्र न्यौपाने, कृष्ण तिम्सिना, सुजता राई, स्वच्छता योगी र सत्कर्म योगीको अभिनय रहेको छ।
याक्थुङ चलचित्रकर्मी संघ नेपालको सहकार्यमा निर्माण भएको नाटकको लेखन तथा निर्देशन विजय संयोग सुब्बाले गरेका छन्।
धरानलाई रंगकर्मी र रंगमञ्चको महत्वपूर्ण थलोका रूपमा स्थापित गर्दै नयाँ पुस्तालाई समेत रंगकर्ममा जोड्ने उद्देश्य रहेको निर्देशक सुब्बाले बताए।
लामो समयपछि धरानमा रंगमञ्चलाई निरन्तरता दिने अभियान अन्तर्गत नाटक प्रस्तुत गर्न लागिएको भन्दै उनले रंगकर्मी तथा नाटकप्रेमी दर्शकलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।



प्रतिक्रिया