झापा, झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरस्थित सहिद गेटअगाडि शनिबार साँझ भएको दुर्घटनामा दमक नगरपालिका–१२ की ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक कमल गाउँपालिका–५ की ४५ वर्षीया अमृता थापा मगर घाइते भएकी छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४५ बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटरमा सवार दुवै महिला घाइते भएका थिए। अम्बिकाको टाउको, कम्मर र दाहिने हातमा चोट लागेको थियो। नाकबाट समेत रगत बगेपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते अमृताको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका–१० का ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा तथा स्कुटरलाई अस्थायी प्रहरी बिट दुर्गापुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया