धरान, धरान–१५ स्थित के के इन्टरनेशनल स्कुलले शुल्क तथा डे बोर्डिङ सेवासम्बन्धी विवादलाई संवाद र समन्वयमार्फत समाधान गर्न आफू तयार रहेको जनाएको छ।

विद्यालयले विद्यार्थीको हित, सुरक्षा र शैक्षिक वातावरणलाई प्राथमिकतामा राख्दै प्रचलित नियम तथा स्थानीय तहका निर्देशनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको हो।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका केही अंश र त्यससँग जोडिएका विवरणले घटनाको पूर्ण चित्र प्रस्तुत नगरेको दाबी गरेको छ। विद्यालयले विवादभन्दा विद्यार्थीको शिक्षा, सुरक्षा, सम्मान र समग्र विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पारेको छ।

विद्यालयका अनुसार सम्बन्धित अभिभावकका दुई बालबालिकालाई बिहान करिब ७ बजे विद्यालय ल्याउने र साँझ ५ः३० बजेपछि घर लैजाने गरिएको थियो। नियमित पठनपाठन समयभन्दा बाहिरको उक्त समय डे बोर्डिङ सेवाअन्तर्गत पर्ने विद्यालयको भनाइ छ। डे बोर्डिङमा बिहानको अतिरिक्त कक्षा, तीन छाक खाना, करिब एक घण्टाको खेलकुद तथा साँझको अतिरिक्त कक्षालगायत सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ।

डे बोर्डिङ सुविधा लिने वा नलिने विषय स्पष्ट गर्न तथा शुल्क र आवश्यक औपचारिकता पूरा गर्न अभिभावकलाई पटक–पटक आग्रह गरिएको विद्यालयको दाबी छ।

विद्यालयका अनुसार स्पष्ट निर्णय र औपचारिक सहमति हुन नसकेको अवस्थामा पनि बालबालिकालाई डे बोर्डिङको समयअनुसार विद्यालय ल्याउने गरिएको थियो।

नगरपालिकाले अतिरिक्त सुविधा इच्छुक अभिभावकलाई मात्र उपलब्ध गराउन दिएको निर्देशनको मर्मलाई विद्यालयले सम्मान गर्ने जनाएको छ। अभिभावकले आफूलाई आवश्यक सुविधा छनोट गर्न पाउने अधिकार स्वीकार गर्दै सेवा, त्यसको उपयोग र शुल्कबारे विद्यालय तथा अभिभावकबीच स्पष्ट समझदारी आवश्यक रहेको विद्यालयको भनाइ छ।

यसै विषयमा गत सोमबार अभिभावक केही बाह्य व्यक्तिसहित विद्यालयमा पुगेपछि प्रधानाध्यापकसँगको छलफलका क्रममा विवाद उत्पन्न भएको विद्यालयले जनाएको छ। प्रधानाध्यापकको अनुमति नलिई भिडियो रेकर्ड गरिएको र त्यसका केही अंश सामाजिक सञ्जालमा सार्वजनिक भएको विद्यालयको दाबी छ।

विद्यालयले सार्वजनिक भिडियोमा प्रधानाध्यापकबाट प्रयोग भएको एउटा अभिव्यक्ति अनुपयुक्त रहेको स्वीकार गरेको छ। शैक्षिक नेतृत्वबाट मर्यादित, संयमित र सम्मानजनक भाषा प्रयोग हुनुपर्नेमा विद्यालयले जोड दिएको छ। तर, उक्त अभिव्यक्तिलाई मात्र आधार बनाएर घटनाको समग्र अवस्था नबुझी प्रधानाध्यापकमाथि आरोप लगाउनु तथा दुर्व्यवहार गर्नु उचित नभएको विद्यालयको भनाइ छ।

विद्यालयले प्रधानाध्यापकमाथि भएको भनिएको दुर्व्यवहारको निन्दा गर्दै असहमति वा गुनासो भए संवाद, छलफल तथा कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ। 

घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र विद्यालय तथा शैक्षिक नेतृत्वको सम्मान, सुरक्षा र मर्यादा कायम राख्न सम्बन्धित पक्षसँग अपिलसमेत गरेको छ।

घटनापछि सोही दिन प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भएको विद्यालयले जनाएको छ। छलफलमा भिडियो रेकर्डिङ, प्रधानाध्यापकबाट प्रयोग भएको अनुपयुक्त अभिव्यक्तिलगायत विषयमा कुराकानी भएको विद्यालयको भनाइ छ। विद्यार्थीको उपस्थिति र परीक्षासम्बन्धी विषयमा पनि विद्यालयले सामाजिक सञ्जालमा फैलिएको विवरणप्रति आपत्ति जनाएको छ।

विद्यालयका अनुसार घटनाको भोलिपल्ट अभिभावक बिहान करिब ७ बजे बालबालिकालाई लिएर विद्यालयको मुख्य प्रवेशद्वारमा पुगेका थिए। त्यस क्रममा सुरक्षा गार्डले डे बोर्डिङसम्बन्धी आवश्यक औपचारिकता पूरा गरी अभिभावकको स्पष्ट सहमति र हस्ताक्षर भएपछि मात्र सेवा लिन तथा नियमित समयअनुसार बिहान ९ बजेदेखि ९ः३० बजेको बीचमा बालबालिकालाई विद्यालय ल्याउन अनुरोध गरेका थिए।

विद्यालयका अनुसार उक्त दिन सम्बन्धित अभिभावकले बालबालिकालाई विद्यालयमा नल्याएका कारण उनीहरूको उपस्थिति नभएको थियो। सामाजिक सञ्जालमा विद्यार्थीलाई बिरामी कक्षमा राखेर परीक्षा लिइएको भन्ने विवरण तथ्यसँग मेल नखाने विद्यालयले जनाएको छ।

 विद्यार्थीको उपस्थिति अभिलेख तथा परीक्षासम्बन्धी विवरणबाट वास्तविकता पुष्टि गर्न सकिने विद्यालयको भनाइ छ।

विद्यालयले कुनै पनि अभिभावकले आक्रोशमा आएर विद्यालयको बदनाम हुने गरी भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्नु उचित नभएको जनाएको छ। विद्यालयका नीति तथा नियमप्रति असन्तुष्टि भए प्रशासनसँग प्रत्यक्ष छलफल गरी समन्वय गर्न सकिने पनि उसले स्पष्ट पारेको छ।

विद्यालयले अभिभावकसँग विवाद गर्न नचाहेको भन्दै संवाद, पारदर्शिता र समन्वयमार्फत समस्या समाधान गर्न आफू तयार रहेको जनाएको छ। अपूर्ण भिडियो, एकपक्षीय विवरण वा अपुष्ट सूचनाका आधारमा निष्कर्षमा नपुग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल सञ्चालक तथा सर्वसाधारणलाई आग्रह गर्दै विद्यालयले घटनासँग सम्बन्धित बालबालिकाको गोपनीयता, सम्मान र शैक्षिक भविष्यमा असर पर्ने सामग्रीको प्रचारप्रसार नगर्नसमेत अपिल गरेको छ।

IMG-20261010-WA0007