धरान, राजनीति, बेरोजगारी, गरिबी तथा ग्रामीण क्षेत्रको विकासका विषयलाई कथावस्तुमा समेटिएको नेपाली चलचित्र ‘सुनको बिहानी’को शनिबार धरानस्थित फ्रेन्ड्स सिनेमा हलमा च्यारिटी शो गरिएको छ।

चलचित्र निर्माण भएको लामो समयपछि विभिन्न कारणले च्यारिटी शो आयोजना गरिएको चलचित्रका निर्माता तुलसीराम खापुङले जानकारी दिए। उनका अनुसार चलचित्रले विशेषगरी ग्रामीण क्षेत्रमा देखिने बेरोजगारी, गरिबी, शिक्षाको अभाव तथा विकासका नाममा हुने राजनीतिक गतिविधिलाई कथामार्फत प्रस्तुत गरेको छ।

चलचित्रमा गाउँमा रोजगारीको अवसर नहुँदा युवाहरू शिक्षा तथा रोजगारीका लागि सहर र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई मुख्य रूपमा देखाइएको छ। 

परिवारको आर्थिक अवस्था कमजोर हुँदा घर–गृहस्थी चलाउनसमेत कठिन हुने र बाध्य भएर विदेशिनुपर्ने ग्रामीण क्षेत्रका पुरुषहरूको अवस्थालाई चलचित्रमा प्रस्तुत गरिएको छ।

त्यस्तै, उच्च शिक्षाका लागि जेहेनदार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्तिसमेत राजनीतिक पहुँच र चलखेलका कारण प्रभावित हुने विषयलाई चलचित्रले उठाएको छ। विकासका योजना र राजनीतिक गतिविधिबीचको सम्बन्ध तथा निर्वाचनका बेला विकासको आश्वासन दिएर जनतालाई प्रभावित पार्ने प्रवृत्तिलाई पनि कथामा समेटिएको निर्माण पक्षले जनाएको छ।

च्यारिटी शोमा सहभागी दर्शकहरूले चलचित्रले ग्रामीण समाजका वास्तविक समस्या र युवाहरूले भोगिरहेको बाध्यतालाई प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए। गरिबी, बेरोजगारी, शिक्षाको अभाव र वैदेशिक रोजगारीका कारण गाउँबाट मानिसहरू पलायन हुनुपर्ने अवस्थालाई चलचित्रले सामाजिक सन्देशसहित प्रस्तुत गरेको दर्शकहरूको भनाइ थियो।

च्यारिटी शोका प्रमुख अतिथिका धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले उक्त चलचित्र पूर्वका ईलाम, झापालगायतको स्थानमा छायांकन गरिएकोमा यसले पूर्वको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने कार्य भएको बताए।

चलचित्रमा सामाजिक र राजनीतिक गतिविधिलाई पर्दामा प्रस्तुत गरिएको र राजनीतिक गतिविधिले समाज विकास तथा जनजीवनमा पार्ने प्रभावलाई चलचित्रले उठान गरेको भन्दै उनले निर्माण टिमलाई धन्यवाद दिए। यसैगरी चलचित्रले समाजमा सकारात्मक परिवर्तनका लागि सन्देश दिन सक्ने उनको भनाइ थियो।

खापुङहाङ फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको चलचित्र ‘सुनको बिहानी’मा तृप्ति नाडकर, युना उप्रेती, दिनेश शर्मा, गणेश उप्रेती, सुवास मेचे, विल्सन बिक्रम राई, सुनिल थापालगायतको मुख्य भूमिका रहेको छ।

चलचित्रको निर्माताहरु सुम्निमा खापुङ, ओमप्रकाश खापुङ, लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा रहेका छन्। संगीत विकास चौधरी को रहेको चलचित्रमा द्वन्द्व निर्देशन सूर्य थोकरले गरेका छन्।

चलचित्रको छायांकन कोशी प्रदेशका इलाम र झापालगायतका विभिन्न स्थान मा गरिएको छ भने केही दृश्य काठमाडौंमा समेत छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। पूर्वी नेपालको ग्रामीण परिवेश, सामाजिक अवस्था र स्थानीय जीवनशैलीलाई समेत चलचित्रमा प्रस्तुत गरिएको छ।

चलचित्रका निर्माता तुलसीराम खापुङले धरानमा गरिएको च्यारिटी शोपछि अन्य हलहरूमा समेत च्यारिटी शो आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।