धरान, किरात राई पत्रकार संघको १९औं स्थापना दिवसको अवसरमा सुनसरीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
किरात राई पत्रकार संघ जिल्ला कार्य समिति सुनसरीको आयोजनामा बुधबार साँझ धरान–२ स्थित भानुचोकमा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा किरात राई पत्रकार संघ सुनसरीकी अध्यक्ष सन्जु राई (सुमित्रा)ले मातृभाषा, संस्कार र संस्कृतिको सम्मान, संरक्षण तथा नयाँ पुस्तामाझ प्रचारप्रसार गर्ने उद्देश्यले वि.सं.२०६४ सालमा किरात राई पत्रकार संघको स्थापना भएको उल्लेख गर्दै संस्थापकप्रति धन्यवाद व्यक्त गरिन्। उनले १९औं स्थापना दिवसका अवसरमा सम्पूर्ण पत्रकारलाई शुभकामना दिइन्।
यसैगरी, स्थापना दिवसकै अवसरमा किरात राई अग्रज पत्रकारको सम्मान तथा युवा पत्रकारलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्ने कार्यको सुरुवात गरिएको अध्यक्ष राईले घोषणा गरिन्। कोषमा अध्यक्ष राईले व्यक्तिगत रूपमा रु. १० हजार प्रदान गर्दै अक्षयकोषको सुरुवात गरिएको जानकारी दिइन्।
कार्यक्रममा किरात राई पत्रकार संघका उपाध्यक्ष बिशाल राईले किरात राई पत्रकार संघ सुनसरीले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णीमहाङ फोम्बो, तामाङ पत्रकार संघ सुनसरीकी अध्यक्ष बिना तामाङ, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सनम तामाङ, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीको उपस्थिति रहेको थियो।
यसैैगरी नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीकी कोषाध्यक्ष रश्मि प्रधान, किरापका सचिव दिलबहादुर राई, किराप सुनसरीका सल्लाहकार तथा संघका पूर्व उपाध्यक्ष जनकऋषि राई, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश बिद्रोहीलगायतको उपस्थिति रहेको थियो।
किरात राई पत्रकार संघले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको दीप प्रज्वलन कार्यक्रममार्फत संघको स्थापना, पत्रकारिता क्षेत्रमा संघले पुर्याउँदै आएको योगदान तथा मातृभाषा, संस्कार र संस्कृतिको संरक्षणमा सञ्चारकर्मीको भूमिकालाई स्मरण गरिएको आयोजकले जनाएको छ।




प्रतिक्रिया