धरान, धरान-१५ स्थीत आडालाइनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका युवकको हालसम्म पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार मंगलबार बिहान करिब १ बजे धरान–१५ आडालाइनस्थित श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाने भित्री सडकखण्डमा दुर्घटना भएको हो।

को ३५ प ४११५ नम्बरको रोयल इनफिल्ड (बुलेट) मोटरसाइकलमा सवार युवक आफैं अनियन्त्रित भई सडक छेउमा रहेको मासु पसलको भित्तामा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए।

अस्पतालमा उपचारका क्रममा करिब १ः३० बजे युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक युवक अन्दाजी ३०/३१ वर्षका छन्। उनको साथबाट परिचय खुल्ने कुनै कागजात वा सामग्री फेला परेको छैन।

मृतकले कालो पाइन्ट, भित्र सेतो टी–सर्ट, बाहिर कालो–सेतो धर्के चेक सर्ट र हातमा कालो पन्जा लगाएका थिए।

प्रहरीले मृतक युवकका आफन्त वा उनलाई चिन्ने व्यक्तिलाई तत्काल इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले मृतकको पहिचान तथा परिवारको खोजी कार्य जारी राखेको जनाएको छ।