धरान, राजभगत प्रधानाङ्ग स्मृतिमा आयोजित कोशी प्रदेश स्तरीय 'राजभगत क्लासिकल बडी बिल्डिङ च्याम्पियनसिप–२०८३' को उपाधि धरान फिटनेस क्लबका सन्दीप बोगटीले जितेका छन्।
आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थीत दसाहारा हलमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका फिटनेस क्लब तथा जिमबाट खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७० प्लस केजी तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक तौल समूहका विजेताबीच अन्तिम प्रतिस्पर्धा गराई समग्र च्याम्पियन छनोट गरिएको थियो।
सो प्रतिस्पर्धामा ७५ प्लस केजी समूहबाट प्रथम भएका धरान फिटनेसका सन्दीप बोगटीले समग्र उपाधि हात पारे।
समग्र च्याम्पियनतर्फ सन्दीप बोगटी प्रथम, निरजबहादुर तामाङ दोस्रो र मनिष लिम्बू तेस्रो भए। त्यस्तै निरजबहादुर गिरी चौथो र सरोज थापा मगर पाँचौँ भए। सुरेन्द्रकुमारले छैटौँ स्थान हासिल गरे भने बेस्ट पोजरको उपाधि लक्ष्मी मोक्तानले जिते।
च्याम्पियनसिपका विजेतालाई प्रमुुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार तथा मेडल प्रदान गरेका थिए।
प्रथम हुने खेलाडीले मेडलसहित ३ लाख रुपैयाँ, दोस्रोले २ लाख, तेस्रोले १ लाख, चौथोले ७५ हजार र पाँचौँले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बेस्ट पोजरलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो।
तौल समूहका विजेता
५५ केजीतर्फ सुरेन्द्रकुमार सुब्बा प्रथम, आयुष डङ्गल दोस्रो, सक्षम दाहाल तेस्रो, किरण राई चौथो र विनोद तामाङ पाँचौँ भएका थिए।
६० केजीतर्फ सौरभ थापा मगर प्रथम, धर्मराज खापुङ दोस्रो, विश्वास राई तेस्रो, अंशु राई चौथो, सूर्यमा लिम्बू पाँचौँ र रोहित शाह छैटौँ भएका थिए।
६५ केजीतर्फ : योगेन्द्र अधिकारी प्रथम, अवे लिम्बू दोस्रो, लक्ष्मी मोक्तान तेस्रो, परशुराम तामाङ चौथो र यामकुमार लिम्बु पाँचौँ भएका छन्।
७० केजीतर्फ निरजबहादुर गिरी प्रथम, ईश्वर माझी दोस्रो, अजय मालिक तेस्रो, डेविड राई चौथो, एलन काङबाङ पाँचौँ र कृष्णबहादुर तामाङ छैटौँ भएका थिए।
७५ केजीतर्फ मनिष लिम्बू प्रथम, विकास राई दोस्रो र सागर लामा तेस्रो भएका थिए। ७५ प्लस केजीतर्फ सन्दीप बोगटी प्रथम, दीपककुमार तिमल्सिना दोस्रो, दिवस गुरुङ तेस्रो, उमेश राई चौथो, विजय लिम्बू पाँचौँ र अवजित राजवंशी छैटौँ भएका थिए।
उक्त प्रतियोगिताका निर्णायकका रूपमा अन्तर्राष्ट्रिय बडी बिल्डिङ खेलाडी शिवलाल श्रेष्ठ, अजय बज्राचार्यलगायत रहेका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका डीएसपी भीषणबाबु राई, आसरा सुधरा केन्द्र धरानकी उपाध्यक्ष शिला बज्राचार्य, राष्ट्रिय फुटबल खेलाडी मिलन चाम्लिङ राई, महिला बडी बिल्डिङ खेलाडी गङ्गा मगरलगायत बडी बिल्डिङ क्षेत्रका खेलाडी तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



प्रतिक्रिया