भोजपुर, किरात राई पत्रकार संघको छैटौं केन्द्रीय अधिवेशनको अवसरमा दुई पत्रकार सम्मानित भएका छन्।

बुधबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ स्थित गोठेसिंह होमस्टेमा आयोजित कार्यक्रममा पत्रकार दिपिन राई र डिक बान्तावा राई सम्मानित भएका हुन्।

संघर्षशील पत्रकारितामार्फत पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दिपिन राईलाई ‘संघर्षशील पत्रकारिता सम्मान’ प्रदान गरिएको हो। उनलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

त्यसैगरी लामो समयदेखि मातृभाषा तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका डिक बान्तावा राईलाई ‘सुप्तुलुङ पत्रकारिता सम्मान’ प्रदान गरिएको छ। उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।

किरात राई पत्रकार संघका अध्यक्ष अवतार राईको सभापतिमा भएको उक्त कार्यक्रममा सम्मानित दुवै व्यक्तित्वलाई प्रमुख अतिथि किरात राई यायोक्खाका उप-महासचिव अर्जुन जम्नेली राईले फेटा गुथाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।

किरात राई पत्रकार संघले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पत्रकार तथा मातृभाषामा पत्रकारिताको विकासमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

छैटौं केन्द्रीय अधिवेशनका अवसरमा प्रदान गरिएको यी सम्मानले पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्वलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

Polish_20260924_140136113