धरान, दुई हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र 'बेहुली'ले दर्शनको राम्रो साथ पाएपछि चलचित्र निर्माण टोली तथा कलाकारहरु दर्शकलाई धन्यवाद दिन कोशी प्रदेश आइपुगेका छन्।

दर्शकको प्रत्यक्ष प्रतिक्रिया बुझ्न तथा चलचित्रप्रति दर्शकले देखाएको मायाका लागि आभार व्यक्त गर्न चलचित्रका मुख्य अभिनेता ‘कुल ब्वाइ’ सहितको टोलीले आइतबार बिर्तामोडदेखि धरानसम्मका विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने कार्यक्रम राखेको छ।

फिल्म युनिटका अनुसार टोलीले कोशी प्रदेशका ५ प्रमुख सहरका ७ वटा हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछ। कतिपय हलमा ‘बेहुली’का नियमित शो सञ्चालन भइरहे पनि कलाकारको टोली भने तोकिएका विशेष शोमा मात्र उपस्थित हुनेछ।

टोलीले आफ्नो भेटघाटको सुरुवात बिर्तामोडबाट गर्दैछ। पाथीभरा सिने प्लाजामा बिहान ११ः१५ बजे सुरु हुने शोमा कलाकारहरू सहभागी हुनेछन्। त्यसपछि क्यूएफएक्स वान स्टपमा दिउँसो १२ः१५ बजेको शोमा कलाकारहरू दर्शकसँगै बसेर चलचित्र हेर्ने कार्यक्रम छ।

बिर्तामोडपछि टोली दमक पुग्नेछ। दमकस्थित डी–म्याक्स सिनेमाजमा दिउँसो १ः३५ बजे सुरु हुने शोमा दर्शकले ‘बेहुली’ टिमसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्।

त्यसपछि टोली इटहरी पुग्नेछ। इटहरीको एलिट सिनेमाजमा साँझ ५ बजे सुरु हुने शोमा कलाकारहरू उपस्थित हुनेछन्। यस्तै, क्यूएफएक्स सिनेप्लेक्समा साँझ ५ः१५ र बेलुका ७ः३० बजे सुरु हुने दुवै शोमा कलाकारहरू दर्शकसँगै रहनेछन्।

बिर्तामोड र दमकका दर्शकबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया तथा प्रशंसा पाएको निर्माण टोलीले जनाएको छ। दर्शकको प्रतिक्रिया प्रत्यक्ष सुन्न र चलचित्रप्रति देखाएको मायाका लागि धन्यवाद दिन कलाकारसहितको टोली पूर्व भ्रमणमा आएको हो।

चलचित्र ‘बेहुली’ मा ‘कुल ब्वाइ’ मुख्य नायकको भूमिकामा देखिएका छन् भने दिव्या रायमाझीले नायिकाको भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा करिश्मा मानन्धर र दिलीप रायमाझी लगायतका कलाकारको समेत अभिनय रहेको छ।

चलचित्रको प्रदर्शनसँगै दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनेको ‘बेहुली’ टिमले पूर्वका विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमलाई निरन्तरता दिएको हो।