धरान, गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको 'गरिमा तीज उत्सव-२०८३ नृत्य प्रतियोगिता'मा धरान-१ की गीता श्रेष्ठ प्रथम भएकी छन्।
हरेक वर्ष हरितालिका तीजको अवसरमा 'तीज उत्सव' आयोजना गर्दै आएको सेन्टरले यस वर्ष पनि महिलाहरूको सहभागितामा विभिन्न विधामा नृत्य प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
शनिबार धरान-१ स्थित धुलिखेल समाज धरानको सभाहलमा आयोजित गरिमा तीज उत्सवमा सहभागी महिलाहरूलाई विभिन्न समूहमा विभाजन गरी नृत्य प्रतियोगिता तथा प्रदर्शन गराइएको थियो।
उत्कृष्ट नृत्य प्रदर्शनका आधारमा विजेतासहित विभिन्न विधामा उत्कृष्ट सहभागी छनोट गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा धरान-१ की गीता श्रेष्ठले प्रथम उपाधि हात पार्दा धरान-१६ की सबिना तुलाधार दोस्रो, धरान-१ कि विनय खत्री तेस्रो भइन्। यसैगरी धरान-८ कि मनम सुडाडीले चौथो र धरान-१ की उर्मिला श्रेष्ठ पाँचौ बनिन्।
प्रतियोगिताको अन्य उपाधी तर्फ मोस्ट एक्टिभ गंगा राई, मोष्ट ईनरजेटिक छेकी भुजेल, मोस्ट पङ्चुअल मञ्जु पौडेल, मोस्ट चार्मिङ मौसम राई र मोस्ट चियरफुल क्रिश कुमारी राई घोषित भए।
यसैगरी बेस्ट स्माईल रेणुका राई, बेस्ट मेकअप मीना पाख्रिन, बेष्ट ड्रेसअप शीखा धामी, बेस्ट फिगर दिपा राईले उपाधि प्राप्त गरेका छन्।
विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्य साथै विभिन्न क्षेत्रमा आबद्ध महिलाहरुको सहभागीता रहेको उक्त उत्सव गरिमा डान्स सेन्टर धरानका नृत्य निर्देशक तथा प्रबन्ध निर्देशक मणिकुमार लिम्बूको सभापतित्व तथा धरान उपमहानगरपालिका न्यायिक समिति सदस्य झरना मुखिया (पौडेल)को प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुखियाले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिप्रति चिन्ता व्यक्त गरिन्। भोटेकोशी नदी तथा लेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सम्पूर्ण नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताइन्।
“पश्चिमलाई दुःख पर्दा पूर्व पनि दुःखी हुन्छ र पूर्वलाई दुःख पर्दा पश्चिमले पनि त्यसको महसुस गर्नुपर्छ,” भन्ने भाव व्यक्त गर्दै उनले जात, धर्म र भूगोलभन्दा माथि उठेर आफूलाई नेपालीका रूपमा हेर्नुपर्नेमा जोड दिइन्। एउटा नेपालीलाई परेको दुःखमा अर्को नेपालीले पनि दुःख महसुस गर्दै सहयोग र साथ दिनुपर्ने उनको भनाइ थियो।
यस वर्षको तीज विगतका वर्षको तुलनामा केही सामान्य रूपमा मनाइएको उनले बताइन्। प्राकृतिक विपत्तिका कारण देशमा शोक र चिन्ताको अवस्था रहेकाले विगतको जस्तो उत्साहका साथ तीज मनाउन नसकिए पनि आफ्नो संस्कार, संस्कृति र परम्परा संरक्षणका लागि दिदीबहिनीहरू भेटघाट गरी सामान्य रूपमा तीज मनाउने क्रम जारी रहेको उनको भनाइ थियो।
कार्यक्रममा महिलाका सामाजिक तथा कानुनी समस्याका विषयमा समेत जानकारी दिइएको थियो। विशेषगरी घरेलु हिंसा, दुर्व्यवहार, दबाब तथा प्रलोभनमा पारिएका महिलाले आफ्ना समस्या कसरी सम्बन्धित निकायसम्म पुर्याउने, न्याय कसरी प्राप्त गर्ने तथा समाजमा हुने सामान्य विवाद र घटनालाई मेलमिलापका माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो।
स्थानीय तहका विभिन्न वडामा आउने सामान्य विवाद तथा उजुरीको न्यायिक प्रक्रियाबारे समेत कार्यक्रममा चर्चा गरिएको थियो। महिलाले आफूलाई परेको समस्या लुकाएर बस्नुभन्दा आवश्यक प्रक्रिया अपनाई सम्बन्धित निकायमा आवाज उठाउनुपर्नेमा जोड दिइएको थियो।
यसैगरी कार्यक्रममा महिला सञ्जाल धरानकी अध्यक्ष सावित्री इवारमले तीज नेपाली महिलाहरुको महान चाड साथै महिलाहरुले एक आपसमा भेटघाट, मेलमिलाप, एकजुट हुने र सबै महिलाहरूको बिकासमा लाग्ने अवसरको रुपमा मनाईनु पर्ने बताइन्।
गरिमा डान्स सेन्टरले हरेक वर्ष तीजको अवसरमा महिलाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष देशमा प्राकृतिक विपत्तिको अवस्था रहे पनि कला, सँस्कृति र परम्पराको संरक्षणलाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको गरिमा डान्स सेन्टरका प्रवर्द्धन निर्देशक मणिकुमार लिम्बूले बताए।
प्रतियोगिताका विजेताहरु प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं बन्न सफललाई ट्रफी, स्यास, प्रमाण-पत्र, गरिमा डान्स सेन्टर धरानमा नृत्य सिक्ने अवसर प्रदान गरिएको थियो।
विभिन्न विधामा उत्कृष्ट भएका सहभागीहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। विजेताहरु तथा विभिन्न विधाका उत्कृष्टहरुलाई प्रमुख अतिथि झरना पौडेल (मुखिया), निर्णायकहरु रीमा थापा मगर, रबिना तुलाधर, दिपशीखा चोङबाङ, अतिथी अम्बिका तामाङले पुरस्कार बितरण गरेका छन्।



प्रतिक्रिया