धरान, फुटबलको उर्वरभूमिका रूपमा परिचित धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
धरानको खेलकुद विकास तथा महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यसहित डी-१९ क्लब र धरान उपमहानगरपालिका वडा नम्बर ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो।
‘धरानको फुटबल विकासका लागि स्थानीय तहमा युवाहरूको सक्रियता’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताले धरानलाई खेलकुद तथा विशेषगरी फुटबलको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास आयोजकले लिएको छ।
नेपालभर फुटबलको उर्वरभूमिका रूपमा परिचित धरान खेलकुदप्रेमी जनताको सहरका रूपमा समेत चिनिन्छ। अनुकूल हावापानी, खेलकुदका लागि आवश्यक पूर्वाधार, खेलप्रति स्थानीयको रुचि तथा फुटबलप्रेमी धराने जनताका कारण धरान नेपाली फुटबलमा विशेष पहिचान बनाएको सहर हो।
कोशी प्रदेशलाई खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने उद्देश्य स्थानीय तथा प्रदेश सरकारबाट समेत अगाडि सारिएको अवस्थामा यो प्रतियोगिताले महिला फुटबलको विकाससँगै धरान र कोशी प्रदेशको खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्तिक २८ गतेदेखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, काकडभिट्टा माइला फुटबल क्लब झापा, स्वर्णिम क्लब धरान तथा भारतको आक्वा फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका अध्यक्ष तथा संयोजक सन्तोष राईका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ९१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
धरानमा पहिलोपटक आयोजना हुन लागेको महिला अन्तर्राष्ट्रिय गोल्डकपलाई विशेष आकर्षक बनाउन धरान रङ्गशालामा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूको बीमाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कारसहित ई–स्कुटर प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।
प्रतियोगिताका सचिव उमेश जिमीका अनुसार सेमिफाइनल, क्वाटरफाइनल तथा फाइनल चरणमा पुग्ने टोलीका लागि आवश्यक भत्ता, होटल तथा यात्रा खर्चसमेत उपलब्ध गराइनेछ।
धरानमा पहिलोपटक आयोजना हुन लागेको महिला अन्तर्राष्ट्रिय गोल्डकपले महिला खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै धरानलाई महिला फुटबलको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
आयोजकले प्रतियोगितालाई धरानको खेलकुद इतिहासमा एउटा महत्वपूर्ण अवसरका रूपमा लिँदै स्थानीय युवाको सक्रियता, खेलप्रेमी दर्शकको सहभागिता र विभिन्न निकायको सहयोगमा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।



प्रतिक्रिया