मोरङ, विराटनगर-५ बरगाछीस्थित लाइफगार्ड अस्पतालको अप्रेसन थिएटरमै दुई चिकित्सकबीच विवादसँगै हात हालाहाल भएको घटना बाहिरिएको छ।
गत बिहीबार एउटै समयमा दुई फरक बिरामीको शल्यक्रिया गर्नुपर्ने भएपछि अप्रेसन आवश्यक मेसिन तथा सामग्री प्रयोग गर्ने विषयमा दुई सर्जनबीच विवाद भएको हो।
अस्पताल स्रोतका अनुसार दुई चिकित्सकले एकै समयमा आफ्ना बिरामीको शल्यक्रिया गर्नुपर्ने भएपछि एउटै मेसिन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। मेसिन कुन चिकित्सकको टोलीलाई पहिले उपलब्ध गराउने भन्ने विषयमा अप्रेसन थिएटरका कर्मचारीसमेत केही समय अन्योलमा परेका थिए।
दुवै चिकित्सकले आफ्नो बिरामीको शल्यक्रिया पहिले गर्नुपर्ने भन्दै आ–आफ्नो निर्धारित समयमै अडिग रहेपछि विवाद चर्किएको बताइएको छ। विवादकै क्रममा चिकित्सकहरूबीच अपरेशन थिएटरभित्रै हात हालाहाल समेत भएको जनाइएको छ।
अस्पताल प्रशासनका इन्द्र भुजेलले एकै समयमा दुई फरक बिरामीको शल्यक्रिया परेकाले एउटै स्क्रिनिङ मेसिन प्रयोग गर्नुपर्ने अवस्था आएको र सोही विषयमा असमझदारी भएको पुष्टि गरे। उनका अनुसार डा. इकवाल अहमद र डा. अभिषेक चौधरीबीच भएको विवाद अहिले समाधान भइसकेको छ।
भुजेलले दुईवटा अप्रेशन थिएटर एकै समयमा सञ्चालन गर्दा प्राविधिक तथा व्यवस्थापनसम्बन्धी समस्या आउन सक्ने बताउँदै घटना सामान्य विषय भएको दाबी गरे।
सामान्यतया अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच उपचारमा लापरबाही भएको आरोपलगायतका विषयमा विवाद हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्।
तर यस पटक भने चिकित्सकहरूबीच नै अप्रेशन थिएटरभित्र विवाद र हात हालाहाल भएको घटना सार्वजनिक भएपछि यो विषय फरक किसिमले चर्चामा आएको हो।
घटनाका सम्बन्धमा अस्पताल प्रशासनले विवादको कारण र व्यवस्थापन पक्षबारे थप विवरण सार्वजनिक गरेको छैन।



प्रतिक्रिया