मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका-६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ।

चोरी–सिकारी हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सामुदायिक वन क्षेत्रमा गस्ती गरेको थियो। सोही क्रममा वनको झाडीमा शंकास्पद अवस्थामा लुकाइराखिएको एउटा बोरा फेला परेको प्रहरीले जनाएको छ।

बोरा खोलेर जाँच गर्दा घरेलु भरुवा बन्दुक तीन थान, फलामको नाल एक थान, बन्दुकमा प्रयोग हुने १९ ग्राम २४० मिलिग्राम बारुद, फलामका ९८ वटा बेरिङ तथा १३ वटा फलामका टुक्रा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार बरामद सामग्री झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। बन्दुक तथा अन्य सामग्री चोरी–सिकारीमा संलग्न समूहले प्रहरीको गस्ती वा निगरानीका कारण छाडेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

बरामद सबै सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याएर सुरक्षित राखिएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।

प्रहरीले वन क्षेत्रमा हुने अवैध चोरी–सिकारी नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ।