विराटनगर, विराटनगर महानगरपालिका–४ इक्राही नहरस्थित धान खेतमा सालनालसहितको नवजात शिशु फेला परेको छ।
शनिबार बिहान धान खेतमा सेतो प्लास्टिकको बोराभित्र राखिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ९ः४० बजे स्थानीयवासीले धान खेतबाट बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा सेतो प्लास्टिकको बोराभित्र रहेका नवजात शिशुको उद्धार गरेको हो। उद्धार गरिएका शिशुलाई तत्काल उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको प्रहरीले जनाएको छ।
अस्पतालमा उपचाररत शिशुको स्वास्थ्य अवस्था हाल सामान्य तथा स्वस्थ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
धान खेतमा नवजात शिशु फेला परेपछि घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। शिशुलाई कसले र किन खेतमा छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया