धरान, रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका तथा अस्पतालमा उपचाररत बिरामीका लागि रगतको अभाव हुन नदिन धरानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले शनिबार भानुचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा सङ्घका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिसहित करिब ८५ जनाले रक्तदान गरेका छन्। बिहान करिब ८ बजेदेखि सुरु भएको कार्यक्रममा सहभागीहरूले विपद्का बेला आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्‍याएका हुन्।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता भएका छन्। उद्धार गरिएका नागरिकमध्ये कतिपय अस्पतालमा उपचाररत रहेकाले उपचारका क्रममा रगतको आवश्यकता बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका अध्यक्ष गोपाल श्रेष्ठले बताए।

उनका अनुसार विपद्का बेला विभिन्न सङ्घसंस्था र निकायले खाद्यान्न तथा अन्य राहत सामग्री उपलब्ध गराइरहेका छन्। तर उद्धारपछि घाइते तथा बिरामीको उपचारका क्रममा रगतको आवश्यकता पर्ने भएकाले सङ्घले यसपटक राहत सामग्रीसँगै स्वास्थ्य सहयोगलाई प्राथमिकता दिएको हो।

“विपद्का बेला राहत सामग्री विभिन्न माध्यमबाट पुगिरहेको छ। तर उद्धार गरिएका नागरिक अस्पतालमा उपचाररत हुँदा रगतको आवश्यकता पर्न सक्छ,” अध्यक्ष श्रेष्ठले भने, “त्यसैले अहिलेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेका हौँ।”

सुनसरी उद्योग वाणिज्य सङ्घले रसुवा बाढीपीडितका लागि केन्द्र, प्रदेश र जिल्लास्तरबाट राहत सङ्कलन तथा सहयोगका कामसमेत गर्दै आएको जनाएको छ। राहत तथा खाद्यान्न सामग्री विभिन्न सङ्घसंस्थाबाट सहयोग भइरहेका बेला उपचाररत बिरामीका लागि आवश्यक रगत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले रक्तदानलाई अघि बढाइएको सङ्घले जनाएको छ।

सङ्घका पूर्वअध्यक्ष विजय श्रेष्ठले विपद्को समयमा सरकारको प्रयाससँगै नागरिक तथा सामाजिक सङ्घसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए।

सरकारले बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिए पनि भौगोलिक अवस्था र विपद्को जटिलताका कारण कतिपय स्थानमा समयमा उद्धार गर्न कठिनाइ भएको उनले बताए। उद्धारमा ढिलाइ हुँदा कतिपय नागरिक बिरामी तथा घाइते अवस्थामा अस्पताल भर्ना हुनुपरेको भन्दै उनले उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्‍याउन रक्तदान गरिएको बताए।

“यस्तो विषम परिस्थितिमा सरकार मात्र होइन, सम्पूर्ण नागरिक, सामाजिक सङ्घसंस्था र निजी क्षेत्र एकजुट भएर सहयोग गर्नुपर्छ,” श्रेष्ठले भने।

उनले आगामी दिनमा विपद्को समयमा तत्काल उद्धार गर्न आवश्यक पर्ने उपकरण तथा सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न सरकारलाई आग्रह गरे। विपद् आउँदा आवश्यक सामग्रीको अभावका कारण उद्धार कार्य प्रभावित नहुने गरी पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

रसुवामा बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेका बेला उद्धारसँगै अस्पतालमा उपचाररत घाइते तथा बिरामीको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राख्नुपर्ने भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले रक्तदानमार्फत सहयोगको पहल गरेको हो।

कार्यक्रममा रक्तदान गर्नेहरूले समेत विपद्को समयमा आफूले सकेको सहयोग गर्नु सामाजिक दायित्व भएको बताएका थिए।