धरान, सुनाखरी एकेडेमी धरान-१२ ले नवआगन्तुक विद्यार्थीहरुलाई विविध कार्यक्रम गरि स्वागत गरेको छ।

कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एकेडेमीले शनिबार विद्यालय परिसरमा विशेष कार्यक्रम गरि अबिर, खदा लगाएर स्वागत गरेको छ।

विद्यालयका प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदीप कुमार राई, प्लस टु संयोजक तप कुमार राई तथा शिक्षक-शिक्षिकाहरूले कक्षा-११ का नवआगन्तुक विद्यार्थीलाई अबिर र खदा लगाउँदै विद्यालय परिवारमा स्वागत गरेका थिए।

उनीहरूको स्वागतमा साँगितिक कार्यक्रम समेत आयोजना भएको थियो। साँगितिक कार्यक्रममा कक्षा १२ र १० का विद्यार्थीहरूले विभिन्न गीत तथा आकर्षक नृत्य प्रस्तुत गरे।

एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईका अनुसार विद्यालयमा हरेक वर्ष कक्षा-११ मा भर्ना भएर आउने नयाँ विद्यार्थीलाई स्वागत गर्ने परम्परा रहेको र सोही अनुसार यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो।

प्रिन्सिपल राईका अनुसार नयाँ विद्यार्थीलाई विद्यालय परिवारसँग घुलमिल गराउँदै आत्मीय वातावरण निर्माण गर्ने उद्देश्यले स्वागत कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा छात्राद्वय जेनिशा राई र लक्ष्मी लावतीले सञ्चालन गरे।