बिराटनगर, कोशी प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका परिवारका लागि ३ करोड सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार भोटेकोसी नदीमा आएको बाढी कारण रसुवामा मानवीय क्षति साथै नागरिक बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेश सरकारले बिहीबार बसेको मन्त्रीपरिषदको बैठकबाट राहत तथा उद्धारका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारका तर्फबाट ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको कोशी प्रदेश सरकारले जनाएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकार प्रभावित नागरिकको साथमा रहेको बताएका छन्। उनले बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री शेर्पाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उनले विपद् व्यवस्थापनका क्रममा संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए। विपद्का बेला सरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवामा ठूलो क्षति भएपछि कोशी प्रदेश सरकारले छिमेकी प्रदेशका विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको निर्णय गरेको हो। प्रदेश सरकारले उपलब्ध गराउने ३ करोड रुपैयाँ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा उपयोग गरिने जनाएको छ।