सिरहा, सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ।

मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको प्रहरीले जनाएको छ। खातुन हिजोदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी भइरहेको थियो। खोजी गर्ने क्रममा मंगलबार गागन खोलाको पुल नजिकै उनको शव फेला परेको हो।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै आवश्यक मुचुल्कालगायतका प्रारम्भिक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार खातुनको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। शवको अवस्था तथा घटनाको प्रकृतिलाई आधार बनाएर प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ। घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्थानीयवासीले प्रहरीसमक्ष माग गरेका छन्।