धरान, कोशी प्रदेशका १४ जिल्लामा कार्यरत १ हजार २२७ पत्रकार दुर्घटना बीमा कार्यक्रममा समेटिने भएका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पत्रकारको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै मंगलबार दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा प्रदेशका १४ वटै जिल्लाका पत्रकारलाई लक्षित गरी बीमा कार्यक्रम शुभारम्भ गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारको हकहित, सुरक्षा र संरक्षणका लागि सकारात्मक तथा फराकिलो ढंगले अघि बढ्ने बताए।

प्रदेश सरकारले बीमित पत्रकारको दुर्घटना बीमाको प्रिमियमबापतको रकम एकमुष्ट उपलब्ध गराउने भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काका अनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ हजार २२७ जना पत्रकारको बीमाका लागि १८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ। महासंघले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँगको सहकार्यमा पत्रकारहरूको दुर्घटना बीमा गर्नेछ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषणका क्रममा विभिन्न जोखिमपूर्ण परिस्थितिमा खटिनुपर्ने भएकाले उनीहरूको सुरक्षा र जोखिम व्यवस्थापनका लागि दुर्घटना बीमा महत्वपूर्ण रहेको बताए। उनले चालु आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको बीमा रकमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने दाबी गरे

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखले पत्रकारहरू फिल्डमा खटिँदा दुर्घटना तथा अन्य आकस्मिक जोखिममा पर्न सक्ने भएकाले दुर्घटना बीमालाई पत्रकारको पेशागत सुरक्षासँगै सामाजिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताए।

उनले पत्रकारको जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाका लागि दुर्घटना बीमाको पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै बीमाको दायरा फराकिलो बनाउन नेपाल बीमा प्राधिकरणले आवश्यक सहयोग तथा सहजीकरण निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको सुरक्षा, पेशागत जोखिम व्यवस्थापन तथा दुर्घटना बीमाको आवश्यकता र प्रभावकारिता बारे समेत चर्चा गरिएको थियो। प्रदेश सरकारको आर्थिक सहयोगमा सुरु भएको यो कार्यक्रमले जोखिमपूर्ण अवस्थामा काम गर्ने पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।