धरान, पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ आइतबार धरानमा विमोचन गरिएको छ। 

धरान रिडर्स ग्रुपको आयोजनामा महेन्द्र बहुमुखी क्याम्पस धरान–१० को सभाहलमा आयोजित कार्यक्रममा पूर्वमेयर तिलक राईले पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रममा प्रा. डा. टङ्क न्यौपाने, वरिष्ठ पत्रकार हर्ष सुब्बा, विभिन्न सञ्चारमाध्यमका अग्रज तथा क्रियाशील पत्रकार, सहयोगी संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा पुस्तकका लेखक श्रेष्ठका पिता भक्तबहादुर श्रेष्ठलगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो।

कार्यक्रममा पत्रकारिता र पुस्तकका विषयवस्तुमाथि प्रा. डा. न्यौपाने र वरिष्ठ पत्रकार सुब्बाले परिचर्चा गरेका थिए।

‘सुनसरीको मिडिया परिदृश्य’मा सुनसरीमा पत्रकारिताको सुरुवाती अवस्थादेखि प्रिन्ट मिडिया हुँदै अनलाइन पत्रकारितासम्म आइपुग्दा देखिएका परिवर्तन, पत्रकारिताले समाजमा पारेको प्रभाव, सञ्चार माध्यमको आवश्यकता, पत्रकारको भूमिका, आचारसंहिता, खोज पत्रकारिता तथा प्रविधिसँगै थपिएका चुनौतीहरूलाई समेटिएको छ।

पुस्तकमा सुनसरीका विभिन्न क्षेत्रको पत्रकारितासम्बन्धी गतिविधि, अवस्था र परिवर्तनलाई वर्णनात्मक तथा विश्लेषणात्मक ढंगले प्रस्तुत गरिएको लेखकले बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमेयर तिलक राईले धरानको सामाजिक तथा ऐतिहासिक विकाससँगै यहाँको पत्रकारिताको विकासलाई बुझ्न पनि पुस्तक उपयोगी हुने बताए। उनले धरानको ऐतिहासिक विकासक्रममा विभिन्न समुदायको बसोबास बढ्दै गएको प्रसंग उल्लेख गर्दै धरानको सामाजिक संरचना र अन्य क्षेत्रको सामाजिक परिवेशमा समेत भिन्नता रहेको धारणा राखे।

राईले सुनसरी भन्नेबित्तिकै धरान, इटहरी र इनरुवालाई जोडेर हेर्ने गरिए पनि तीनै क्षेत्रको सामाजिक, सांस्कृतिक र जीवनशैलीमा फरकपन रहेको बताए। उनले ‘सुनसरीको मिडिया परिदृश्य’ले जिल्लाभरको पत्रकारिता र सञ्चार क्षेत्रको गतिविधिलाई समेटेकाले पुरानो तथा नयाँ पुस्ताका पत्रकार र सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले पुस्तक पढ्नुपर्ने बताए।

उनले २०४७ सालपछि धरानमा पत्रकारिताप्रति मानिसहरूको आकर्षण बढ्दै गएको स्मरण गर्दै तत्कालीन समयमा पत्रकारको पहिचानसमेत फरक रहेको बताए। प्रिन्ट मिडियाको समयमा प्रकाशित समाचारप्रति तुलनात्मक रूपमा बढी विश्वास हुने गरेको उल्लेख गर्दै उनले प्रविधिको विकाससँगै पत्रकारिताको स्वरूप र चुनौती पनि परिवर्तन भएको बताए।

राईका अनुसार अहिले प्रत्येक व्यक्तिको हातमा स्मार्ट मोबाइल पुगेपछि सूचना उत्पादन र प्रसारण सहज भएको छ। तर, सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा आउने सबै सूचना सत्य नहुने भएकाले सत्यतथ्य छुट्याउने चुनौती बढेको उनको भनाइ थियो। मोबाइलमा आएको सूचनालाई नै तत्काल विश्वास गर्ने प्रवृत्तिले गलत सूचना फैलिने जोखिमसमेत बढाएको उनले बताए।

कार्यक्रममा प्रा. डा. टङ्क न्यौपानेले ‘सुनसरीको मिडिया परिदृश्य’ पत्रकारिता अध्ययन गर्ने तथा पत्रकारितामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका लागि उपयोगी सामग्री भएको बताए।

सुनसरीमा पत्रकारिताको सुरुवातदेखि गाउँबस्तीमा सञ्चारमाध्यमले पारेको प्रभाव, प्रिन्ट पत्रकारिताबाट अनलाइन पत्रकारितासम्मको रूपान्तरण र पत्रकारितामा आवश्यक सत्यतथ्य खोजीका विषयलाई पुस्तकले समेटेको उनको भनाइ थियो। न्यौपानेले पुस्तकमा विभिन्न शोध तथा अध्ययनका सामग्रीलाई समेत समेटिएको बताए। 

भवानी बराल, मनिता चाम्लिङ र सिर्सा राईका शोधपत्रको समेत चर्चा गरिएको उल्लेख गर्दै उनले सुनसरीको पत्रकारिता क्षेत्रको अवस्था र परिवेशलाई अभिलेखीकरण गर्ने काम महत्वपूर्ण रहेको बताए।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले पुस्तकमा धरान, इटहरी, इनरुवासहित सुनसरी जिल्लाको पत्रकारितालाई समेट्ने प्रयास गरिएको बताए। 

पत्रकारिताको आचरण, मौलिकता, खोजी आवश्यकतासहित पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे पुस्तकमा चर्चा गरिएको भन्दै उनले नयाँ पुस्ताका पत्रकारका लागि पुस्तक उपयोगी हुने धारणा राखे।

कार्यक्रमका संयोजक राजेश विद्रोहीले धरान रिडर्स ग्रुप लामो समयदेखि पुस्तक पढ्ने तथा नयाँ ज्ञान सिर्जना गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको बताए। पुस्तक प्रकाशन गर्ने क्रममा संस्थालाई औपचारिक रूपमा दर्ता गरिएको जानकारी दिँदै उनले यसअघि समूहका सबै सदस्यका रूपमा मात्र आबद्ध रहेको र दर्तापछि संस्थागत रूपमा जिम्मेवारी तथा पद विभाजन गरिएको बताए।

पुस्तक विमोचनपछि लेखक भोजराज श्रेष्ठले आफूले पत्रकारिताको क्रममा देखेका, भोगेका र काम गर्ने क्रममा अनुभव गरेका विषयलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए। सुनसरी र आसपासका क्षेत्रको पत्रकारिता तथा सञ्चार गतिविधिलाई समेत पुस्तकमा समेटिएको उनले जानकारी दिए।

श्रेष्ठले पुस्तक प्रकाशनका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफूले अग्रज पत्रकारबाट मात्र नभई नयाँ पुस्ताका पत्रकारबाट पनि धेरै कुरा सिक्ने गरेको बताए। नयाँ पुस्ताले गरेका गल्ती तथा कमीकमजोरीबाट समेत आफूले सिक्ने गरेको उल्लेख गर्दै उनले सिकाइ जीवनभर चलिरहने प्रक्रिया भएको बताए।

आफ्नो लेखनमा अग्रज पत्रकारहरूको ज्ञान र अनुभवबाट प्रेरणा लिए पनि आफ्नै लेखन शैली अपनाएको बताउँदै श्रेष्ठले पुस्तकमा रहेका कमी–कमजोरीलाई रचनात्मक तथा स्वस्थ आलोचनामार्फत औंल्याइदिन आग्रह गरे। 

आगामी संस्करण तथा लेखनमा देखिएका त्रुटि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले सबैलाई ‘सुनसरीको मिडिया परिदृश्य’ पढ्न र अध्ययन गर्न आग्रह गरे।

पुस्तक विमोचन कार्यक्रमले सुनसरीको पत्रकारिताको इतिहास, वर्तमान अवस्था र प्रविधिको विकाससँगै बदलिँदै गएको सञ्चार क्षेत्रका चुनौतीमाथि समेत बहसको अवसर प्रदान गरेको थियो।