धरान, गरिमा डान्स सेन्टर, धरानको आयोजनामा सञ्चालित ‘गरिमा समर क्याम्प–२०८३’ को आज समापन भएको छ।
धरान–९ स्थित होटल रत्न इनमा सम्पन्न समापन कार्यक्रममा समर क्याम्पका प्रशिक्षार्थी बालबालिकाले आफूले सिकेका नृत्य, बोल्ने कला तथा र्याम्पवाक प्रस्तुत गरेका थिए। साथै गरिमा डान्स सेन्टरका कलाकार तथा विद्यार्थीहरूले समेत विभिन्न नृत्य प्रस्तुति दिएका थिए।
गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कलाकार, निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय संयक सुब्बाले समर क्याम्पमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे।
बालबालिकाको प्रतिभा विकासका लागि विद्यालयको नियमित अध्ययनसँगै अतिरिक्त तथा जीवनोपयोगी सीपको प्रशिक्षण आवश्यक रहेको प्रमुख अतिथि सुब्बाले बताए। यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन तथा प्रस्तुति कौशल विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बो, महिला सञ्जाल धरानकी अध्यक्ष सावित्री इवारम, धरान कफी तथा कृषि उद्यम केन्द्रकी अध्यक्ष अन्जना राई, कलाकार तथा समाजसेवी उदय कुरुङ्बाङ सुब्बा, नायिका दिपशीखा चोङबाङ, समाजसेवी सीतादेवीहरु विश्वकर्मा, अम्बिका तामाङ, कृष्ण गुरुङ, मीना तामाङ, गायिका शान्ति नाल्बोलगायतको उपस्थिति थियो।
गर्मीको बिदामा रहेका बालबालिकालाई समयको सदुपयोग गराउँदै मनोरञ्जनसँगै जीवनोपयोगी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको समर क्याम्पमा बालबालिकालाई नृत्य, क्याटवाक/र्याम्पवाक र पब्लिक स्पिकिङ लगायतका प्रशिक्षण दिइएको थियो। उनीहरूलाई हाईकिङ, स्वीमिङलगायतका गतिविधिमा समेत सहभागी गराइएको थियो।
उक्त समर क्याम्पमा प्रशिक्षार्थीहरुलाई नृत्यतर्फ रबिना तुलाधर र पावल राना राईले कोरियोग्राफी गरेका थिए। र्याम्पवाकतर्फ चिल्ड्रेन्स ट्यालेन्ट हन्ट–२ की सेकेन्ड रनरअप रोइना चौधरी र पब्लिक स्पीकिङ सन्जु राई (सुमित्रा)ले प्रशिक्षण गरेका थिए।
गरिमा डान्स सेन्टरले बालबालिकाको प्रतिभा पहिचान तथा विकासका लागि नृत्य, कला, व्यक्तित्व विकास र विभिन्न सिर्जनात्मक गतिविधि मार्फत प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




प्रतिक्रिया