धरान, पासा खलः धरानको आयोजनामा शनिबार धरानमा ‘इकोस अफ हेरिटेज’ कार्यक्रम सम्पन्न भएको छ। 

नेपाली मौलिक वाद्यवादन, गीतसंगीतमय बनेको धरानको भानुचोकमा आयोजना गरिएको उक्त कार्यक्रममा कला, संगीत तथा साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएकोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ।

कार्यक्रममा चर्चित कुटुम्ब व्याण्ड, मदनकृष्ण श्रेष्ठ, उनका छोरा यमनकृष्ण श्रेष्ठ तथा गायिका सलिना विश्वकर्मालगायतका कलाकारले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

नेपाली मौलिक कला र सम्पदाको संरक्षण, प्रवर्द्धनसँगै नयाँ पुस्तालाई आफ्नो कला–संस्कृतिसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने उदेश्यले आयोजित उक्त कार्यक्रममा प्रस्तुत साँस्कृतिक प्रस्तुतिमा उपस्थिति दर्शकहरु रमाएका थिए।

कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टको प्रमुख आतिथ्यमाभएको कार्यक्रममा स्थानीय कलाकार, कला तथा संस्कृति क्षेत्रका व्यक्तित्व, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।