धरान, धरान कफी कृषि उद्यम केन्द्रद्वारा उत्पादित ‘इष्टर्न कफी बीन्स’ को आज (बिहिबार) धरानमा शुभारम्भ गरिएको छ।
धरान-१० स्थित ब्रदर्स बारिस्टा एकेडेमीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीको प्रमुख आतिथ्यमा ‘इष्टर्न कफी बीन्स’ सार्वजनिक गरिएको हो।
उक्त अवसरमा प्रमुख अतिथि राईले शुभकामना दिदै नेपालमा हाल कफी पिउने चलन दिनप्रतिदिन बढ्दै गइरहेको र यसको माग अत्यधिक रहेको बताए। उनको अनुसार स्वदेशमा मात्र नभएर बिदेशमा समेत नेपालमा उत्पादित कफीको माग अत्यधिक रहेकोले कफीको खेतीदेखि बजारीकरण सम्ममा सरकारको सहयोग अत्यावश्यक रहेको बताए।
नेपाल कृषि प्रधान देश भएता पनि कृषि क्षेत्र र कृषकको बिकास नभएको जनाउँदै स्वदेशी उत्पादन बिकासमा सरकारको सहयोग अत्यावश्यक रहेको बताए। यसका लागि कृषिलाई उद्योगमा जोड्नु पर्ने र सरकारले कृषकलाई धनी बनाउने नीति र प्रणाली बनाउनु पर्ने बताए।
कार्यक्रममा पूर्वमन्त्री राईसँगै चुरे अर्गानिक कफी फर्मका निर्देशक चन्द्रजीत राई, आशिष बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन वनेम, श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले, सहप्रवक्ता जीवन विष्ट तथा धरान कफी कृषि उद्यम केन्द्रकी निर्देशक अन्जना राईलगायतले कफी बीन्सको सार्वजनिक गरे।
कार्यक्रममा चन्द्रजीत राईले नेपालमा कफी उत्पादन, बजारीकरण तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा मन्तव्य दिए।
यसैगरी अन्जना राईले ‘इष्टर्न कफी बीन्स’का बारेमा जानकारी दिँदै यसको उत्पादन, विशेषता र बजारीकरणका विषयमा जानकारी गराइन्।
स्थानीयस्तरमा उत्पादित कफीलाई प्रवर्द्धन गर्दै गुणस्तरीय नेपाली कफीलाई बजारमा स्थापित गर्ने उद्देश्यले ‘इष्टर्न कफी बीन्स’ उत्पादन तथा बजारीकरण सुरु गरिएको समेत अन्जना राईले जनाईन्।



प्रतिक्रिया