धरान, धरानको भानुचोकमा भोलि (शुक्रबार) चर्चित ‘कुटुम्ब’ र पासा खलःको संयुक्त सांगीतिक प्रस्तुती आयोजना हुने भएको छ।
पासा खलः धरानद्वारा आयोजित ‘इकोस अफ हेरिटेज’ सांगीतिक कार्यक्रम मार्फत उनीहरूको साँगितिक प्रस्तुति हुने भएको हो।
नेपालको मौलिक संगीत, वाद्यवादन, संस्कार र संस्कृतिको
संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममा नेवारी मौलिक बाजासहित धिमे लगायतका परम्परागत वाद्यवादन प्रस्तुत साथै विभिन्न साँस्कृतिक नृत्य प्रस्तुति हुनेआयोजकले जनाएको छ।

कार्यक्रममा चर्चित कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुति समेत रहनेछ। आयोजकका अनुसार श्रेष्ठले ‘सय थरी बाचा एउटै ताल’ प्रस्तुतिबाट कार्यक्रमको शुभारम्भ गरिने र उनको ‘अरबौँ मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ बोलको गीत समेत प्रस्तुति हुने भएको छ।
मनोरञ्जनका लागि मात्र नभई लोपोन्मुख अवस्थामा रहेका मौलिक बाजा तथा सांस्कृतिक परम्पराबारे नयाँ पुस्तामा जागरण फैलाउन आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट मौलिक वाद्यवादनसँग सम्बन्धित कलाकारहरूको सहभागिता रहनेछ।