मोरङ, मोरङको सुन्दरहरैँचा नगरपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा र नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा–१ का ४९ वर्षीय सुन्दरलाल चौधरी रहेका छन्। उनलाई आफ्नै घरबाट गाँजा र नगद रकमसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ करिब ५ः३० बजे चौधरीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरबाट ३ किलो ७६० ग्राम गाँजा र २ लाख ७१ हजार रुपैयाँ नगद बरामद भएको डीएसपी मिश्रले जानकारी दिए। प्रहरीले बरामद भएको गाँजा र नगद रकम गाँजाको अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा चौधरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार चौधरीलाई बरामद गाँजा र नगदसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजाको स्रोत, कारोबारमा अन्य व्यक्तिको संलग्नता तथा बरामद नगद रकमको प्रयोजनलगायतका विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानपछि घटनासँग सम्बन्धित थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।