सुनसरी, सुनसरीको वर्जु गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्राइएका ३ लाख ६२ हजार २२५ रुपैया बराबरका लत्ताकपडा बरामद गरेको छ।

अवैध सामान ओसारपसार प्रयोग भएको एउटा सिटी सफारी समेत प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुुसार साउन ३१ गते विहान करिव ९ः०५ बजे बर्जु १ स्थित दुर्गा मन्दिर क्षेत्रमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले भारतबाट भन्सार नतिरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार २२५ रुपैया बराबरको लत्ताकपडा बरामद गरेको हो।

सामान ओसारपसारमा प्रयोग भएको प्र.१–०२–००५ ह ०८५१ नम्बरको सिटी सफारी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, सोही दिन दिउँसो करिब २ बजे बर्जु–६ स्थित जानकी चोकबाट इलाका प्रहरी कार्यालय चिमडीको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको करिब २ लाख १९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

प्रहरीका अनुसार खुला सीमाको फाइदा उठाउँदै भन्सार प्रक्रिया पूरा नगरी विभिन्न किसिमका लत्ताकपडा तथा सामान नेपाल भित्र्याउने गतिविधि हुने गरेको पाइएपछि बर्जु क्षेत्रका सीमा नाका तथा आसपासमा निगरानी र चेकजाँचलाई तीव्रता दिइएको छ।

एकै दिन दुई छुट्टाछुट्टै स्थानबाट बरामद भएको लत्ताकपडाको कुल मूल्य ३ लाख ६२ हजार २२५ रुपैयाँ रहेको छ। बरामद सामान तथा नियन्त्रणमा लिइएको सिटी सफारीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ।

भन्सार छलीमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न नियमित निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।