धरान, भोजपुर सुनसरी सेवा समाजको १३औँ वार्षिक साधारणसभा आज आइतबार धरान–१५ गणतन्त्र बस्तीस्थित समाजको भवनमा सम्पन्न भएको छ।

समाजका अध्यक्ष रेवतीरमण राईको सभापतित्वमा सम्पन्न साधारणसभामा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्रविक्रम बेघा प्रमुख अतिथि तथा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईवारम विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजका सल्लाहकारहरू केशव सुनाम, मणिराम राई, राजेन्द्र किराती, दानबहादुर राई, नगेशचन्द्र राई, लोकबहादुर थिङ, धरान–१५ का वडा सदस्य बादल भट्टराईलगायतको उपस्थिति थियो।

साधारणसभामा समाजको प्रगति प्रतिवेदन सदस्य बलिन्द्र विश्वकर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पोष्टराज राईले प्रस्तुत गरेका थिए। प्रस्तुत दुवै प्रतिवेदन साधारणसभाबाट अनुमोदन गरिएको छ।

यसै अवसरमा सुनसरीको धरान तथा बराहक्षेत्रका विभिन्न स्थानमा बसोबास गर्दै आएका १७ जना भोजपुरेलाई समाजको आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यवाहक मेयर अईन्द्रविक्रम बेघाले आफ्नो जन्मथलोलाई कहिल्यै भुल्न नहुने बताए। उनले जन्मभूमि तथा पुर्ख्यौली थातथलोलाई माया गर्दै त्यसको विकासमा सदैव योगदान गर्नुपर्नेमा जोड दिए।

Polish_20260816_205157152विशेष अतिथि वडा अध्यक्ष नरेशकुमार ईवारम तथा समाजका सल्लाहकार केशव सुनाम, मणिराम राई, लेखापरीक्षक बालनन्द भुर्तेल, चेली समूह धरानकी अध्यक्ष पूर्णमाया राई, गणतन्त्र बस्ती टोल विकास संस्था धरान–१५ का अध्यक्ष जयप्रसाद राईलगायतले भोजपुर सुनसरी सेवा समाजको निरन्तर प्रगति र सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए।

Polish_20260816_203149764कार्यक्रममा समाजका उपाध्यक्ष प्रतापसिंह राईले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सन्जु राईले गरेकी थिइन्।

पुर्ख्यौली थलो भोजपुर भई सुनसरीमा बसोबास गर्ने भोजपुरेहरूको साझा संस्था भोजपुर सुनसरी सेवा समाजले भोजपुरेहरूबीच परिचय, आपसी सहयोग तथा समन्वय अभिवृद्धि गर्नुका साथै पुर्ख्यौली भूमिको विकासमा समेत विभिन्न कार्य गर्दै आएको छ।

साधारणसभाका अवसरमा समाजका अध्यक्ष रेवतीरमण राईले विगतदेखि गर्दै आएका सामाजिक तथा विकासमूलक कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा समयानुकूल थप सकारात्मक र रचनात्मक कार्य गर्दै समाजलाई अगाडि बढाइने बताए।

Polish_20260816_203404740