जनकपुर, धनुषा जिल्ला अदालतले जग्गा बैंकमा राखेर करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

धनुषाका विभिन्न व्यक्तिसँग अनुचित लेनदेन (मिटरब्याज) तथा ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरेको थियो।

उनीहरूलाई प्रहरीले यही साउन ९ गते पक्राउ गरेको जनाएको छ। सोही मुद्दासम्बन्धी धनुषा जिल्ला अदालत, जनकपुरधाममा भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।

सूचना अधिकारी महतोका अनुसार तीनै जनाविरुद्ध दर्ता भएका नौवटा मुद्दामध्ये छवटा मुद्दामा थुनछेक बहस सम्पन्न भइसकेको छ। 

ती मुद्दामा तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। बाँकी तीनवटा मुद्दामा भने सुनुवाइ जारी रहेको जनाइएको छ।

अदालतको आदेशअनुसार गोपाल साह र उनका छोरा हरेराम साहलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरूमाथि विभिन्न व्यक्तिसँग अनुचित लेनदेन तथा ठगीसम्बन्धी आरोपमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको हो। अदालतको आदेशपछि मुद्दाको थप कानुनी प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।