विराटनगर, मापदण्ड पूरा नगरेका विराटनगरमा सञ्चालित सातवटा निजी आँखा अस्पताल अनुगमनका क्रममा सिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा कानुनी तथा स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालहरू भेटिएपछि सिलबन्दी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार आँखा उपचारजस्तो संवेदनशील क्षेत्रमा समेत निर्धारित मापदण्ड पालना नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएपछि कानुनी प्रक्रियाअनुसार सिलबन्दी गरिएको हो।

सिलबन्दी गरिएका अस्पतालमा विराटनगर–९ स्थित विराटरानी आँखा अस्पताल, विराटनगर–१० को सञ्जीवनी आई केयर, विराटनगर–१३ को नेपाल आँखा अस्पताल, विराटनगर–१४ को विराट आँखा अस्पताल, विराटनगर–१५ को इफ्रा आँखा अस्पताल, विराटनगर–१५ कै अखण्ड ज्योति आँखा अस्पताल र हिमाल आँखा अस्पताल रहेका छन्।

अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया तथा मापदण्ड पूरा नगरेको पाइएपछि ती संस्थाको सेवा सञ्चालनमा रोक लगाउँदै सिलबन्दी गरिएको प्रशासनले जनाएको छ।

स्वास्थ्य सेवामा आवश्यक मापदण्डको पालना भए-नभएको विषयमा अनुगमनलाई निरन्तरता दिइने र नियम विपरीत सञ्चालन भएका स्वास्थ संस्थामाथि कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।