धरान, लामो समयदेखि बजेट विनियोजनलाई लिएर देखिएको विवाद र असहमतिबीच धरान उपमहानगरपालिकाको १९औँ नगरसभा बिहीबार सम्पन्न भएको छ।
निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो सुरु भएको नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको हो।
गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा यसपटक नगरको बजेट ५१ करोड ११ लाख ४४ हजार रुपैयाँले वृद्धि भएको छ। गत वर्ष धरानको कुल बजेट २ अर्ब २४ करोड ७ लाख ८३ हजार रुपैयाँ थियो।
कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ। यस शीर्षकमा ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड र धरान सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।
शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेत समेटिएको उक्त रकमबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बजेटमा एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमसमेत समेटिएको छ।
स्वास्थ्य क्षेत्रका लागि १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये सशर्त अनुदानतर्फ ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ।
आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुट्याइएको छ। सामाजिक विकासका लागि आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा सुकुम्बासी व्यवस्थापन, सिटी सफारी तथा ट्याम्पो चालकका लागि दुर्घटना सहयोग, सडक मानव व्यवस्थापन, बाँदर नियन्त्रण, विपन्न परिवारको दाहसंस्कार सहयोग तथा लैङ्गिक समानता र समावेशीकरणका कार्यक्रम पनि समेटिएका छन्।
नगरका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत शीर्षकमा अघिल्लो वर्षको तुलनामा ५ करोड रुपैयाँ वृद्धि गरी २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्षको भुक्तानी बाँकीसमेत जोड्दा वडा कार्यालयतर्फको कुल विनियोजन २८ करोड ७० लाख ९४ हजार रुपैयाँ पुगेको छ।
समावेशितामाथि प्रश्न
बजेट पारित भए पनि नगरसभाभित्रको असन्तुष्टि भने पूर्ण रूपमा अन्त्य भएको देखिएन। वडा नम्बर १२ का वडा सदस्य तथा सार्वजनिक लेखा समितिका सदस्य ब्रह्मज्ञ भट्टराईले नगरसभामै असहमति जनाएका छन्। बजेट तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समेत उनले केही विषयमा आफ्नो असहमति रहेको संकेत गरेका थिए।
वडा सदस्य यशोदा सुवेदीले बजेट समावेशी नभएको र महिलालाई पर्याप्त रूपमा सम्बोधन नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। नगरसभा बोलाएर लामो समय छलफल गर्न नदिई निर्णयमा पुगिएको भन्दै कतिपय वडा सदस्यहरूले बजेटका विभिन्न शीर्षकमाथि पर्याप्त अध्ययन र बहस हुन नसकेको गुनासो गरेका छन्।
यसअघि शुक्रबारका लागि बोलाइएको नगरसभा करिब ६ घण्टा पर्खिएपछि स्थगित भएको थियो। सभाको स्थगनबारे स्पष्ट कारण नदिइएको भन्दै महिला वडा सदस्यहरूले समेत असन्तुष्टि जनाएका थिए। उनीहरूले नगर नेतृत्वसँग क्षमायाचनाको माग गरेपछि बिहीबारको नगरसभा पनि निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो।
बेरुजु र दायित्व पनि चुनौती
नगरसभामा बजेटसँगै धरानको वित्तीय व्यवस्थापनको अवस्थाबारे पनि प्रश्न उठाइएको छ। उपलब्ध विवरणअनुसार धरान उपमहानगरपालिकाको बेरुजु रकम ४५ करोड ४ लाख रुपैयाँ रहेको छ भने नगरपालिकाले तिर्नुपर्ने बाँकी दायित्व करिब ३९ करोड रुपैयाँ रहेको छ।
नगरका वडाहरूबाट संकलन हुने आन्तरिक आम्दानी २७ करोड ६६ लाख रुपैयाँ रहेको जनाइएको छ। वडागत रूपमा सबैभन्दा बढी आन्तरिक आम्दानी संकलन गर्ने वडा धरान–१५ रहेको छ।
यस्तै, खानेपानी तथा कोशी प्रोजेक्टका लागि ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।
लामो समयदेखिको विवादपछि अन्ततः बजेट पारित भए पनि बजेटको प्राथमिकता, समावेशिता, वित्तीय अनुशासन र कार्यान्वयनको प्रभावकारिता भने धरानका लागि मुख्य प्रश्नका रूपमा देखिएका छन्।
२ अर्ब ७६ करोडभन्दा बढीको बजेटमार्फत पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, सहकारी व्यवस्थापन र सामाजिक विकासलाई अघि बढाउने लक्ष्य नगरले राखेको छ। तर नगरसभाभित्र देखिएको असहमति, बेरुजु तथा करिब ३९ करोड रुपैयाँको दायित्व व्यवस्थापन र विगतमा देखिएका बजेट कार्यान्वयनका चुनौतीलाई सम्बोधन गर्दै योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अब धरान उपमहानगरपालिकाका लागि महत्वपूर्ण परीक्षा बन्नेछ।



प्रतिक्रिया