धरान, लामो समयदेखि बजेटको विषयमा देखिएको विवादका कारण लम्बिँदै आएको धरान उपमहानगरपालिकाको नगरसभा हुने टुङ्गो लागेको छ।

कार्यवाहक मेयर आइन्द्रविक्रम बेगा र वडा अध्यक्षहरूबीच सहमति जुटेपछि बुधबार बसेको कार्यपालिका बैठकले नगरसभा आयोजना गर्ने समय निश्चित गरेको हो।

नगरसभा सञ्चालनका विषयमा कार्यवाहक मेयर र धरानको २० वटै वडाका वडा अध्यक्षहरूबीच पछिल्ला दिनमा देखिएको असहमति सहमतिमा परिणत भएपछि नगरसभा अगाडि बढ्ने वातावरण बनेको हो।

कार्यवाहक मेयर बेगाले नगरपालिका र वडा दुवैको दायित्व जनताको विकाससँग जोडिएको भन्दै नगर र वडा मिलेर हरेक विषयमा छलफल गर्दै अघि बढ्नुपर्ने बताए।

जनताले जनप्रतिनिधिलाई वडाको मात्र नभई समग्र धरानको विकासका लागि निर्वाचित गरेको उल्लेख गर्दै उनले सबै एकजुट भएर अघि बढे मात्र नगरसभाको औचित्य पूरा हुने धारणा राखे।

उनले धरानको समग्र विकास, सडक तथा पूर्वाधार निर्माण र जनताको आवश्यकताअनुसारका योजना अघि बढाउने चाहना हुँदाहुँदै पनि बजेटको सीमितताका कारण कतिपय क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन गर्न नसकिएको बताए। बजेटको समग्र अवस्थालाई हेरेर निर्णय गर्नुपर्ने भएकाले केही योजनामा थप बजेट छुट्याउन नसकिएको उनको भनाइ छ।

यसैबीच, धरानको एडिबी खानेपानी आयोजनाका लागि बजेट छुट्याइएको बताउँदै कार्यवाहक मेयर बेगाले उक्त विषयमा आवश्यक छलफल र समन्वयका लागि नगर प्रमुखसहितको टोली केही समयपछि काठमाडौं जाने जानकारी दिए।

बेगाले विगतका विवाद र असहमतिलाई बारम्बार दोहोर्याएर अघि बढ्न नसकिने भन्दै अब धरानको विकासका लागि आगामी योजनामा केन्द्रित हुनुपर्ने बताए। विगतका कुरा नकोट्याई अब कस्तो विकास योजना बनाउने, कुन प्रविधि अपनाउने र जनताको आवश्यकता कसरी सम्बोधन गर्ने भन्ने विषयमा सबै जनप्रतिनिधिले सोच्नुपर्ने उनको भनाइ छ।

नगरसभा हुने टुङ्गो लागेसँगै लामो समयदेखि रोकिएको बजेट तथा विकास योजनासम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। अब नगर र वडा तहबीचको समन्वयलाई प्रभावकारी बनाउँदै धरानको समग्र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने चुनौती जनप्रतिनिधिहरू माथि रहेको छ।