धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आयोजित पाँचदिने उपशामक तथा हस्पिस केयरसम्बन्धी कार्यशालामा कोशी प्रदेशका १६ वटा अस्पतालका नर्स तथा डाक्टरहरूको सहभागिता रहेको छ।

कार्यशालाको पहिलो दिन विशेषगरी जटिल तथा दीर्घरोगी बिरामीसँग गरिने व्यवहार, बिरामीको अवस्था बुझ्ने तरिका, परामर्श दिने शैली तथा बिरामी र परिवारका सदस्यको भावनात्मक अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।

कोशी प्रदेशका विभिन्न जिल्ला तथा अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरूलाई क्यान्सर, मुटु, मिर्गौलालगायत जटिल रोगका बिरामीसँग नजिक भएर उनीहरूको भावना बुझ्दै उपचार तथा परामर्श प्रदान गर्ने व्यावहारिक सीप सिकाइएको हो।

प्रशिक्षणका क्रममा बिरामीलाई एक्कासि जटिल रोगको जानकारी दिनुभन्दा पहिले उनीहरूको भावनात्मक अवस्था बुझ्ने, रोगबारे बिरामीलाई कति जानकारी छ भन्ने पत्ता लगाउने र त्यसपछि क्रमशः लक्षण तथा स्वास्थ्य समस्याबारे जानकारी दिँदै अन्तिममा देखिएको रोगसँग जोडेर परामर्श दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो।

यसले बिरामीलाई आफ्नो अवस्थाबारे सहज रूपमा बुझ्न तथा उपचार प्रक्रियामा मानसिक रूपमा तयार हुन सहयोग पुग्ने प्रशिक्षकहरूले बताएका छन्।

क्यान्सरका बिमारीहरूलाई किमोथेरापी गरिरहँदा स्वास्थ्यमा आउने परिवर्तन र किम्बुका कारण बिमारीहरूलाई फरक-फरक किसिमको समस्या देखा पर्दा कसरी व्यवस्थापन गर्ने अथवा बिमारी अनुसार फरक-फरक देखिने लक्षणलाई कसरी नियन्त्रण गर्न कुन-कुन औषधि अति आवश्यक हुन्छ र दुखाइ बढ्दा कस्तो किसिमको औषधि बिमारीलाई दिने भन्ने विषयमा डाक्टर सोनियाल दुलालले स्पष्ट रुपमा प्रशिक्षणमा सहभागी नर्स र डाक्टरलाई जानकारी गराईन्। 

कार्यशालामा सहभागी पाँचथरकी लक्ष्मी जोशीले जिल्ला अस्पतालमा कार्यरत नर्स तथा डाक्टरका लागि यस्तो परामर्शमूलक प्रशिक्षण निकै उपयोगी रहेको बताइन्। विशेषगरी ग्रामीण क्षेत्रमा जटिल रोगका बिरामीहरू उपचारका लागि ठूला अस्पतालमा आएर उपचारपछि गाउँ फर्किने भएकाले उनीहरूलाई स्थानीय अस्पतालमै आवश्यक मनोसामाजिक तथा व्यावहारिक परामर्श दिन यस्तो प्रशिक्षण महत्वपूर्ण भएको उनको भनाइ छ।

उनका अनुसार क्यान्सर, मुटु तथा मिर्गौलाजस्ता जटिल रोग भएका बिरामीलाई उनीहरूको भावनाअनुसार हौसला प्रदान गर्ने, परिवारका सदस्यसँग समन्वय गर्ने र बिरामीको अवस्थाअनुसार व्यवहार गर्ने विषयमा प्रशिक्षणबाट महत्वपूर्ण ज्ञान प्राप्त भएको छ।

जोशीले पाँचदिने कार्यशालाबाट जिल्ला अस्पतालमा आवश्यक पर्ने आधारभूत उपशामक तथा हस्पिस सेवासम्बन्धी ज्ञान र सीप सिकेर आफ्नै कार्यक्षेत्रमा फर्किएपछि आउने बिरामीलाई प्रभावकारी परामर्श प्रदान गर्ने उद्देश्य रहेको बताइन्।

उदयपुर अस्पताल तथा इलाम जिल्ला अस्पतालबाट सहभागी नर्सहरूले पनि ग्रामीण जिल्ला अस्पतालमा देखिने बिरामीका समस्या र उनीहरूलाई आवश्यक पर्ने उपशामक सेवासम्बन्धी प्रशिक्षण निकै उपयोगी भएको बताए। उनीहरूले विशेषगरी बिरामीसँग गरिने व्यवहार र परामर्शको व्यावहारिक अभ्यासबाट धेरै कुरा सिक्न पाएको बताएका छन्।

कार्यशालामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धीबाट आएका डाक्टर श्रेष्ठ तिवारीले क्यान्सरमा देखिने परिवर्तन, क्यान्सरका विभिन्न लक्षण तथा बिरामीको अवस्थालाई कसरी व्यवस्थापन र सन्तुलन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

त्यसैगरी बीपी प्रतिष्ठानकी क्यान्सर विशेषज्ञ डा. सोनिया दुलालले प्रतिष्ठानमा भर्ना भएका क्यान्सर बिरामीसँग प्रत्यक्ष रूपमा परामर्श तथा व्यवहारिक अभ्यास गराएकी थिइन्।

सहभागी स्वास्थ्यकर्मीलाई बिरामीसँग प्रत्यक्ष संवाद गराउँदै उनीहरूको भावना बुझ्ने, समस्या पहिचान गर्ने र उपयुक्त परामर्श दिने तरिका सिकाइएको थियो।

डा. दुलालले बिरामीको दुखाइ तथा अन्य लक्षण व्यवस्थापनमा प्रयोग हुने औषधि, कुन अवस्थामा कुन औषधि प्रयोग गर्न सकिन्छ तथा जटिल अवस्थामा पुगेका बिरामीलाई आवश्यक पर्ने उपशामक सेवाका विषयमा समेत प्रशिक्षण दिएकी थिइन्।

कार्यशालामा क्रिस्ट शिक्षण अस्पतालका क्यान्सर विशेषज्ञ डा. विष्णुदत्त पौडेलले पनि क्यान्सर रोग जटिल अवस्थामा पुगेका बिरामीलाई कसरी सेवा प्रदान गर्ने, बिरामीसँग कस्तो व्यवहार गर्दा उनीहरूसँग भावनात्मक रूपमा नजिक हुन सकिन्छ र क्यान्सरको उपचारका विभिन्न तहहरू के–के हुन् भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

सहभागी नर्स प्रतिमा चौधरी र रेहा श्रेष्ठका अनुसार जटिल अवस्थामा पुगेका बिरामीलाई केवल औषधि र उपचार मात्र नभई उनीहरूको मानसिक तथा भावनात्मक अवस्थालाई समेत ध्यान दिएर सेवा दिनुपर्ने विषय प्रशिक्षणबाट सिक्न पाइएको छ।

कार्यशालामा सहभागी स्वास्थ्यकर्मीहरूलाई बिरामीमा देखिने विभिन्न समस्या पहिचान गर्ने, त्यसको व्यवस्थापन गर्ने, दुखाइ कम गर्न आवश्यक औषधिको छनोट तथा प्रयोग गर्ने र बिरामीसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिएको छ।

विशेषगरी डा.सोनिया दुलालले प्रतिष्ठानमा उपचाररत क्यान्सर बिरामीसँग सहभागी स्वास्थ्यकर्मीलाई प्रत्यक्ष रूपमा संवाद गराउँदै करिब आधा घण्टासम्म परामर्श अभ्यास गराएकी थिइन्। यस प्रकारको प्रत्यक्ष अभ्यासले कक्षाकोठामा सिकेको ज्ञानलाई बिरामीसँगको व्यवहारमा प्रयोग गर्न सहज भएको सहभागीहरूले बताएका छन्।

कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत नर्स तथा डाक्टरलाई उपशामक तथा हस्पिस सेवाका लागि आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको पाँचदिने कार्यशालाले ग्रामीण क्षेत्रका जटिल रोगका बिरामीलाई स्थानीय तहमै गुणस्तरीय परामर्श तथा सहयोगात्मक सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।