धरान, जटिल तथा दीर्घरोगका बिरामीलाई अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्दै ग्रामीण क्षेत्रमै उपशामक (Palliative) तथा हस्पिस सेवा विस्तार गर्ने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँचदिने कार्यशाला सोमबारदेखि सुरु भएको छ।

कोशी प्रदेशका १४ जिल्लाका १६ वटा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई सहभागी गराइएको कार्यशालामार्फत क्यान्सर, मिर्गौला, मुटु लगायत जटिल तथा दीर्घरोगबाट पीडित बिरामीलाई उपचारसँगै मानसिक, भावनात्मक, सामाजिक तथा आध्यात्मिक सहयोग कसरी प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षण दिइनेछ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले उपशामक सेवा अस्पतालमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताए। उनका अनुसार बिरामीको उपचारसँगै उनीहरूको आर्थिक अवस्था, पारिवारिक समस्या र जीवनको अन्तिम चरणमा भोग्नुपर्ने पीडालाई समेत ध्यान दिन आवश्यक छ।

“बिरामीलाई औषधि र उपचार मात्र होइन, चिकित्सकको बोली, व्यवहार, हौसला र माया पनि महत्वपूर्ण हुन्छ,” उपकुलपति कार्कीले भने, “जीवनको अन्तिम चरणमा पुगेका बिरामीलाई समेत सम्मानपूर्वक र भावनात्मक रूपमा सहयोग गर्न सके उनीहरूको मनोबल बढाउन सकिन्छ।”

उनले दुर्गम क्षेत्रबाट सामान्य समस्या लिएरसमेत बीपी प्रतिष्ठान आउनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय अस्पतालका चिकित्सक तथा नर्सलाई आवश्यक सीप प्रदान गर्न कार्यशाला आयोजना गरिएको बताए।

स्थानीय स्वास्थ्य संस्था, प्रदेश स्वास्थ्य मन्त्रालय, समुदाय र प्रतिष्ठानको विशेषज्ञतालाई जोडेर पूर्वी नेपालमा उपशामक सेवा विस्तार गर्ने प्रतिष्ठानको योजना रहेको उनको भनाइ छ।

कार्कीका अनुसार जटिल रोगका बिरामीमध्ये कति उपचारपछि सुधार भए, कति समयमा उपचारमा आए र कति बिरामी ढिलो अस्पताल आइपुगे भन्ने तथ्याङ्कसमेत व्यवस्थित रूपमा संकलन गर्ने योजना प्रतिष्ठानले अघि बढाएको छ।

बिरामीको अवस्था अनुसार आईसीयू, भेन्टिलेटर लगायतका उपचार आवश्यक भए-नभएको विषयमा समेत उचित मूल्याङ्कन गरिने उनले बताए।

घरमै पुगेर उपचार गर्ने अभ्यास

नेपालमा उपशामक सेवाको विस्तारमा लामो समयदेखि काम गर्दै आएका चिकित्सक डा. विष्णुदत्त पौडेलले गम्भीर रोगका बिरामी अस्पतालसम्म आउन नसक्ने अवस्थामा घरमै पुगेर सेवा दिनु मानवीय र प्रभावकारी स्वास्थ्य सेवा भएको बताए।

उनले बीपी प्रतिष्ठानजस्तो पूर्वी नेपालकै प्रमुख स्वास्थ्य संस्थाले स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, गाउँपालिका तथा नगरपालिकासँग सहकार्य गरेर ग्रामीण क्षेत्रमा उपशामक सेवा विस्तार गर्न सक्ने बताए।

प्रतिष्ठानका क्यान्सर विशेषज्ञ डा. सोनिया दुलालले अस्पतालसम्म आउन कठिन हुने तेस्रो तथा चौथो चरणका क्यान्सर बिरामीलाई घरमै पुगेर सेवा दिने अभ्यास सुरु गरिएको जानकारी दिए।।

उनका अनुसार २०८२ साल असारदेखि धरान–१४ बाट घरमै पुगेर उपशामक सेवा दिने कार्यको सुरुवात गरिएको हो। अनक्लोजी टिमका चिकित्सक तथा नर्सहरू बिरामीको घरमै पुगेर सेवा दिँदै आएका छन्।

अस्पतालसम्म आउँदा यातायात, खाना तथा अन्य खर्चसमेत जोडिँदा बिरामीको आर्थिक भार बढ्ने भएकाले घरमै सेवा दिँदा खर्चसमेत कम हुने डा. दुलालको भनाइ छ।

अस्पताल आउँदा करिब ५ हजारदेखि ७ हजार रुपैयाँसम्म खर्च हुने अवस्थामा घरमै पुगेर करिब १ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउँदा बिरामी तथा परिवारले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए।

डा. दुलालका अनुसार प्रतिष्ठानमा आउने क्यान्सर बिरामीमध्ये हालसम्म ९९ जनालाई घरमै पुगेर उपशामक सेवा प्रदान गरिएको छ। आवश्यकता निकै ठूलो भए पनि जनशक्ति तथा स्रोतसाधनको सीमितताका कारण सेवा विस्तारमा केही समय लाग्ने उनको भनाइ छ।

स्क्रिनिङदेखि घरदैलो सेवासम्म

प्रतिष्ठानका डा. सन्दीप शर्माले कोशी प्रदेशमा क्यान्सर तथा अन्य जटिल रोगको पहिचान र उपशामक सेवाको पहुँच विस्तारका लागि विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए।

उनका अनुसार ठूलो संख्यामा जनचेतना तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरी जोखिममा रहेका बिरामीको पहिचान गर्ने प्रयास गरिएको छ। अब त्यसलाई उपचार र उपशामक सेवासँग जोडेर निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनले बताए।

कार्यशालामा भरतपुर क्यान्सर अस्पताल तथा क्रिस्ट शिक्षण अस्पतालका क्यान्सर विशेषज्ञ सहित विभिन्न क्षेत्रका विज्ञ चिकित्सकहरूले सहभागी चिकित्सक तथा नर्सलाई प्रशिक्षण र परामर्श दिनेछन्।

कार्यशालामा क्यान्सर, मिर्गौला, मुटु तथा अन्य दीर्घरोगका बिरामीलाई आवश्यक उपचार, दुखाइ व्यवस्थापन, मानसिक तथा भावनात्मक सहयोग, परिवारलाई परामर्श, घरमै पुगेर सेवा दिने विधि र बिरामीको जीवनको अन्तिम चरणमा गरिने हेरचाहलगायत विषयमा प्रशिक्षण दिइने जनाइएको छ।

कार्यक्रम टुवर्ड्स क्यान्सर कोलाबोरेसन क्यानडा, रोटरी इन्टरनेसनल ग्लोबल ग्रान्ड (GG3346908), रोटरी क्लब अफ काष्ठमाण्डप, कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, धरान उपमहानगरपालिका लगायतको सहकार्यमा सञ्चालन भइरहेको छ।

कार्यशालामा बीपी प्रतिष्ठानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीको सभापतित्वमा प्रतिष्ठानका निर्देशक डा. इन्द्र लिम्बू, हाडजोर्नी विशेषज्ञ डा. विक्रमप्रसाद श्रेष्ठ, बरिस्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डा. संजीव शर्मा, साइकियाट्री विभागका प्रमुख डा. वैकुण्ठनाथ अधिकारी, मेडिसिन विभागका प्रमुख डा. रविन मास्के, नर्सिङ विभाग प्रमुख कला थापा, विष्णु तामाङलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

बीपी प्रतिष्ठानले पाँचदिने कार्यशालापछि कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थासँग समन्वय गरी उपशामक तथा हस्पिस सेवालाई ग्रामीण तहसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।