धरान, सुनसरीको देवनगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिराहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै धरानको भानुचोकमा दीप प्रज्वलन गरिएको छ।
लायन्स क्लब इन्टरनेसनल अफ धरानले मंगलबार साँझ धरानको भानुचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै देशमा जातीय तथा धार्मिक सद्भाव, सामाजिक एकता र भाइचाराको वातावरण सुदृढ बनाउन सबैलाई आह्वान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब धरानका अध्यक्षले दुःख र विपत्तिको समयमा लायन्स क्लब सधैं नागरिकको साथमा रहने संस्था भएको उल्लेख गरे। उनले देवनगञ्जको घटना अत्यन्त पीडादायी भएको बताउँदै अस्पतालमा रगत आवश्यक पर्दा जात, धर्म वा समुदाय नहेरी सबैको रगत समान रूपमा प्रयोग हुने उदाहरण दिँदै समाजमा पनि त्यही समानताको भावना स्थापित हुनुपर्ने धारणा राखे।
जातीय विभेद र वैमनस्यले समाजलाई कमजोर बनाउने भएकाले सबै नेपालीले आपसी सम्मान, सद्भाव र भाइचारालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
मुस्लिम धर्मगुरुले सबै जाति र धर्मका नागरिक मिलेर बस्नु नै राष्ट्रको समृद्धि र प्रगतिको आधार भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली एउटै परिवारका सदस्य भएकाले आपसी सम्मान, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउनुपर्ने बताए।
त्यसैगरी बौद्ध धर्मगुरुले सबै धर्मको मूल उद्देश्य मानव कल्याण, शान्ति र मानवताको सेवा रहेको उल्लेख गर्दै मनमा शान्ति, सद्भाव र सकारात्मक सोचको विकास गर्न सके यस्ता दुःखद घटनाहरू दोहोरिन नदिने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।
हिन्दू धर्मगुरुले पनि हिन्दू, मुस्लिम, बौद्ध, ईसाई तथा अन्य सबै धर्मका मानिस सर्वप्रथम मानव भएको स्मरण गराउँदै नेपालका सम्पूर्ण जातजाति नेपाली भएकाले एकअर्काको धर्म, संस्कृति र पहिचानको सम्मान गर्दै मेलमिलापका साथ अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रमको अन्त्यमा लायन्स क्लब धरानका अध्यक्षले देवनगञ्ज घटनामा युवाहरूले ज्यान गुमाउनु परेको प्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको जातीय वा धार्मिक विभेदबाट टाढा रही सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै नागरिकलाई आग्रह गरे।



प्रतिक्रिया