काठमाडौं, कवि तथा गीतकार उमा श्रेष्ठको पहिलो कविता संग्रह ‘मौन छ देश’ तथा दुई म्युजिक भिडियो एकैसाथ सार्वजनिक गरिएको छ।

ब्राइट एकेडेमी एण्ड मिडिया प्रालिको आयोजनामा काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा कविता संग्रहसँगै तीज विशेष गीत ‘नाचौँ छमछमी’ र आधुनिक गीत ‘ए माया लाउँछौ कि’ को औपचारिक विमोचन गरिएको हो।

कवि श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको सभापतित्व, कवि तथा गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यमा शनिबार उक्त कार्यक्रम भएको हो। प्रमुख अतिथि कवि तथा गीतकार चूडामणि देवकोटाले उमा श्रेष्ठको साहित्यिक तथा सांगीतिक यात्रालाई सिर्जनात्मक सम्भावनाले भरिएको यात्रा भएको उल्लेख गर्दै निरन्तर सिर्जनामा सक्रिय रहन शुभकामना दिए।

आयोजक संस्था ब्राइट एकेडेमी एण्ड मिडिया प्रा.लि.की अध्यक्ष प्रतिमा राईले स्वागत मन्तव्य राखिन भने सञ्चालन गीतकार तथा पत्रकार सुमन पण्डितले गरेका थिए।

कविता संग्रह ‘मौन छ देश’ माथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक डा. शैलेन्द्र प्रकाश नेपालले संग्रहमा नारी संवेदना, देशप्रेम, सामाजिक यथार्थ र प्रेमका भावलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए। उनले उमा श्रेष्ठ कविता लेखनमा मात्र सीमित नरही गीत, संगीत र गायनमा समेत आफ्नो छुट्टै पहिचान स्थापित गर्ने क्षमता बोकेको स्रष्टा रहेको उल्लेख गरे।

आफ्नो पहिलो कृति सार्वजनिक गर्ने क्रममा उमा श्रेष्ठ भावुक बनेकी थिइन्। उनले साहित्य र संगीतको क्षेत्रमा आफ्नो यात्रा भर्खरै सुरु भएको बताउँदै आमाको उपस्थितिमा पहिलो सिर्जना सार्वजनिक गर्न पाउनु जीवनकै अविस्मरणीय क्षण भएको सुनाइन्। परिवारको निरन्तर साथ, विश्वास र प्रेरणाले नै सिर्जनात्मक यात्रामा अघि बढ्ने ऊर्जा मिलेको उनको भनाइ थियो।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले उमा श्रेष्ठका सिर्जनाले आफूलाई प्रभावित बनाएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कृति र गीतसंगीतमार्फत नेपाली कला–साहित्यमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले उमा श्रेष्ठका रचनामा सामाजिक चेतना, देशप्रेम र नारीका भावना सशक्त रूपमा अभिव्यक्त भएको उल्लेख गर्दै साहित्य र संगीत दुवै क्षेत्रमा उनको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रमका संयोजक तथा आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुन थेवेले कविता संग्रहमा उमा श्रेष्ठका जागिरे जीवनका अनुभूति, सामाजिक परिवेश तथा देशको विगत र वर्तमानका विविध आयामलाई समेटिएको जानकारी दिए। उनका अनुसार संग्रहका कविताले समकालीन समाजका अनेक पक्षलाई जीवन्त रूपमा चित्रण गरेका छन्।

कार्यक्रमकै अवसरमा उमा श्रेष्ठ र अर्जुन थेवेका सुपुत्र आदित्य थेवेको जन्मदिन पनि मनाइएको थियो। सहभागीहरूले जन्मदिनको केक काट्दै शुभकामना आदानप्रदान गरेका थिए।

यस अवसरमा सार्वजनिक गरिएका दुवै म्युजिक भिडियो उमा श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ। तीज विशेष गीत ‘नाचौँ छमछमी’मा उमा श्रेष्ठ र सुमित खड्काको स्वर रहेको छ भने गीतका शब्द तथा संगीत विपिन आचार्यले सिर्जना गरेका हुन्। त्यस्तै, ‘ए माया लाउँछौ कि’ गीतमा उमा श्रेष्ठकै शब्द, संगीत र स्वर रहेको छ भने गायनमा सुमित खड्काले साथ दिएका छन्।