धरान, धरान उपमहानगरपालिका-२ स्थित देशीलाइनका व्यवसायीहरू व्यापार व्यवसायमा आएको गिरावटको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन्। 

लामो समयदेखि वान-वे सडक सञ्चालनमा रहेकाले व्यापार प्रभावित भएको भन्दै व्यवसायीहरूले देशीलाइन र हाइवे रोडलाई तत्काल टु-वे सडकका रूपमा सञ्चालन गर्न माग गरेका छन्।

देशीलाइन व्यवसाय संघका संयोजक भूपेन्द्र चाम्लिङ राईका अनुसार व्यवसायीहरूले केही समयअघि नै आफ्ना माग समेटिएको प्रतिवेदन धरान उपमहानगरपालिकामा बुझाएको थियो। तर, हालसम्म नगरपालिकाबाट कुनै ठोस जानकारी वा पहल नभएपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनले बताए।

बसपार्क धरान-८ मा सरेपछि देशीलाइन क्षेत्रको व्यापार थप सुस्त बनेको व्यवसायीहरूको गुनासो छ। बसपार्क स्थानान्तरणपछि निर्माण भएको फोरलेन सडकमा टु-वे सवारी सञ्चालन गर्नुपर्ने, देशीलाइन र हाइवे रोडमा सहज रूपमा सवारी आवत-जावतको व्यवस्था मिलाउनुपर्ने तथा भानुचोकमा बाहिरबाट आउने सवारीसाधनका लागि व्यवस्थित पार्किङ र यात्रु चढाउने-ओराल्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।

व्यवसायीहरूका अनुसार भानुचोक क्षेत्रमा यात्रु झार्ने र चढाउने व्यवस्थित प्रणाली बनाएर बाहिरी क्षेत्रबाट आउने सवारीसाधनलाई सहज आवतजावतको वातावरण सिर्जना गर्न सके देशीलाइनलगायत आसपासका व्यवसायीको व्यापारमा सुधार आउन सक्छ।

देशीलाइन व्यवसाय संघका अध्यक्ष गंगा राईले व्यवसायीहरूले आफ्ना समस्या स्थानीय सरकार र उद्योग वाणिज्य संघसमक्ष राखे पनि आफूहरूको मागप्रति गम्भीरता नदेखाइएको गुनासो गरे। उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठलाई समेत समस्या अवगत गराउँदा ठोस प्रतिक्रिया नआएको उनको भनाइ छ।

व्यवसायीहरूले आफूहरूले महँगो घरभाडा तिर्नुका साथै स्थानीय सरकारलाई नियमित रूपमा करसमेत बुझाउँदै आए पनि व्यापार प्रवर्द्धन र व्यवसायीलाई सहज हुने वातावरण निर्माण गर्न स्थानीय सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्।

आन्दोलनका क्रममा देशीलाइन क्षेत्रका व्यवसायीहरूले दिनभरि पसलका सटर बन्द गरेर विरोध जनाएका थिए। 

उनीहरूले देशीलाइनको सडकमा समेत विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी सडक अवरोध हटाएको थियो। तर, व्यवसायीहरूले आफूहरूको समस्या बुझ्न र समाधानका लागि पहल गर्न स्थानीय सरकारका प्रतिनिधि आन्दोलनस्थलमा नआएको गुनासो गरेका छन्।

दिनभरि सटर बन्द गरेर विरोधमा उत्रिएका व्यवसायीहरूले साँझ भानुचोकमा कोणसभा गर्दै आफ्ना माग तत्काल सम्बोधन गर्न स्थानीय सरकारसँग माग गरेका छन्। 

उनीहरूले भोलिदेखि पनि आन्दोलनलाई निरन्तरता दिने र माग पूरा नभए आन्दोलनको स्वरूप परिवर्तन गर्दै धरानको भानुचोक, देशीलाइनलगायत वान-वे सञ्चालनमा रहेका सडकहरू बन्द गरेर थप कडा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्।

व्यवसायीहरूले धरानको व्यापारिक गतिविधि चलायमान बनाउन स्थानीय सरकार, उद्योग वाणिज्य संघ र सम्बन्धित निकायले तत्काल पहल गरी सडक व्यवस्थापन तथा पार्किङ प्रणाली सुधार गर्नुपर्ने माग गरेका छन्।