सुनसरी, धरान उपमहानगरपालिका–२० स्थित चिन्डाँडामा किरात सभ्यताका आदिम पात्र सुम्निमा–पारुहाङको प्रतिमा निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई ले गत मङ्सिरमा गरेको घोषणा अनुसार शनिबार प्रतिमा निर्माणको शुभारम्भ गरिएको हो। कार्यक्रममा स्थानीयवासी, विभिन्न संघसंस्था तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिमा निर्माणको उद्देश्य धरानलाई किरात सभ्यता, संस्कृति र पर्यटनसँग जोडिएको नयाँ गन्तव्यका रूपमा विकास गर्नु रहेको सांसद राईले बताए। उनका अनुसार धरान बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक सहर भएकाले यहाँ सबै समुदायको पहिचान र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न खोजिएको हो।
उनले धरानमा राई–लिम्बु समुदायको उल्लेख्य बसोबास रहेको उल्लेख गर्दै सुम्निमा–पारुहाङको प्रतिमाले किरात सभ्यताको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे।
सांसद राईका अनुसार चिन्डाँडालाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ। त्यहाँ धार्मिक सभ्यता र पुरातात्त्विक सामग्रीसँग सम्बन्धित ग्रन्थहरू राखिने, फोटो तथा भिडियो खिच्न मिल्ने आकर्षक संरचना निर्माण गरिने र पर्यटकमैत्री पूर्वाधार विकास गरिने योजना छ। उनका अनुसार प्रतिमा निर्माण सम्पन्न भएपछि वार्षिक पाँचदेखि छ लाखसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
राईले सुम्निमा–पारुहाङ कुनै एक जाति विशेषको मात्र आस्थाको प्रतीक नभई सम्पूर्ण धरानवासीको साझा सांस्कृतिक सम्पदा बन्ने दाबी गरे। साथै भविष्यमा धरानमा अन्य जातजातिका सांस्कृतिक तथा धार्मिक प्रतीकहरूको पनि स्थापना गरिने उनले बताए।
प्रतिमा निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा भएका विरोधप्रति संकेत गर्दै उनले धरानको विकास र पर्यटन प्रवर्द्धनका लागि अघि बढाइएको योजनालाई अनावश्यक रूपमा विवादित बनाउन खोजिएको टिप्पणी गरे। आफूले व्यक्तिगत स्वार्थका लागि नभई धरानको दीर्घकालीन हितका लागि काम गरिरहेको उनको भनाइ थियो।
"हर्क साम्पाङले जे बोल्छ, त्यो गर्छ। समय केही तलमाथि हुन सक्छ, तर सार्वजनिक रूपमा गरेको प्रतिबद्धता पूरा गरेरै छाड्छु," उनले भने।
उनका अनुसार प्रतिमा निर्माणका लागि देश तथा विदेशबाट लाखौं रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। धरानको विकास चाहने तथा आफ्ना दिवंगत परिवारजनको स्मृतिमा सहयोग गर्ने दाताहरूको योगदानले योजना अघि बढेको उनले बताए।
धरानको विकासका लागि जनसहभागिता मार्फत निर्माण हुने संरचनामा अनावश्यक विरोध नगर्न सबैसँग आग्रह गर्दै उनले प्रतिमा निर्माण कार्य पारदर्शी र कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको स्पष्ट पारे।




प्रतिक्रिया