धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ बिरामीलाई औषधि पुर्‍याउन गएका १० जनालाई प्रहरीले पक्राउ गरेका छन्।

प्रतिष्ठानमा भर्ना भएका बिरामी तथा आकस्मिक सेवामा रहेका बिरामीका लागि औषधि पुर्‍याउन गएका १० जना औषधी व्यवसायी तथा कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई पछि धरानका औषधि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्।

IMG-20260708-WA0012आइतबार बीपी प्रतिष्ठानको निरीक्षणमा आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहेता सहितको छलफलपछि प्रतिष्ठानभित्र हुने अनियमित गतिविधि तथा बिचौलियाको भूमिका नियन्त्रण गर्न सुरक्षा निगरानी कडा पारिएको थियो।

सोही निर्देशन अनुसार मंगलबार प्रतिष्ठान परिसरमा निगरानी बढाइएका क्रममा औषधि लिएर भित्र प्रवेश गरेका १० जना औषधि व्यवसायी तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउको विरोधमा धरानका औषधि व्यवसायीहरूले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै पक्राउ परेकाको तत्काल रिहाइको माग गरेका थिए। विरोधस्वरूप उनीहरूले करिब दुई घण्टा औषधि पसलसमेत बन्द गरेका थिए। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा म्याद थप गर्न पठाइएको प्रहरीले जनाएको छ।

औषधी व्यवसायीका प्रतिनिधि दीपेन्द्र श्रेष्ठले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गर्दै त्यसो नभए सम्पूर्ण औषधि पसल बन्द गरेर इलाका प्रहरी कार्यालय अगाडि धर्ना बस्ने चेतावनी दिए।

औषधी पसल बन्द हुँदा उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्त भने समस्यामा परेका छन्। शल्यक्रिया गर्न आएका बडा क्षेत्र नगरपालिकाका रोहन कार्कीले बीपी प्रतिष्ठान सुधार गर्ने उद्देश्य राम्रो भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण बिरामीमाथि परेको बताए।

उनले शल्यक्रियाका लागि बिरामीलाई तयारी अवस्थामा राखिएको भए पनि औषधि पसल बन्द हुँदा आवश्यक औषधि उपलब्ध गराउन नसकिएको गुनासो गरे।

यस्तै, राजविराजबाट आफ्नी भदैनीको खुट्टामा राखिएको स्टिल निकाल्न आएका एक सेवाग्राहीले अस्पतालभित्र औषधि लैजान खोज्दा आफूसँगै आएका आफन्तलाई प्रहरीले पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले गरिब र दुःखीको समस्या नबुझ्ने सरकार टिकाउ नहुने प्रतिक्रिया पनि दिए।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी भीषणबाबु राईले  पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी पठाइएको जानकारी दिँदै अनुसन्धानपछि दोषी देखिएकामाथि कानुनी कारबाही गरिने र निर्दोष देखिएकालाई रिहा गरिने बताए।

यसैबीच प्रहरीले बीपी प्रतिष्ठानको मुख्य गेटमा माइकिङ गर्दै बिरामीका आफन्त वा परिवारका सदस्यबाहेक अन्य कसैले पनि औषधि लिएर अस्पतालभित्र प्रवेश गर्न नपाउने जनाएको छ। साथै औषधि ल्याउने नाममा टोकन वा पुर्जी काट्ने कार्यमा अस्पतालका कर्मचारी, चिकित्सक वा औषधि व्यवसायी संलग्न हुन नपाउने चेतावनीसमेत दिएको छ।

बीपी प्रतिष्ठानमा बिचौलिया नियन्त्रण र सेवा प्रणाली सुधार गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारिएपछि यसको प्रभाव उपचार सेवासँगै औषधि आपूर्तिमा समेत देखिन थालेको छ। यसले सुधार अभियान र बिरामीको सहज सेवाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नसमेत उठाएको छ।