सुनसरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मंगलबारे डाँडास्थित एक घरबाट प्रहरीले २०१ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको PIT र इलाका प्रहरी कार्यालय, पथरी मोरङको संयुक्त प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार वीरबहादुर लिम्बूका छोरा ३३ वर्षीय मोतिराज लिम्बूको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा रंगेली नगरपालिका–६ निवासी विजय शाहका ३३ वर्षीय छोरा मिथुनकुमार शाह र मोतिराज लिम्बू बसेको कोठाबाट दुई वटा पोका खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधमध्ये एउटा पोका १०० ग्राम ९२० मिलिग्राम र अर्को पोका १०० ग्राम ४२० मिलिग्राम तौल भएको प्रहरीले जनाएको छ। दुवै पोकाको कुल तौल २०१ ग्राम ३४० मिलिग्राम रहेको छ।
प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका दुई थान मोबाइल फोन, दुई थान मोटरसाइकल तथा एक थान डिजिटल तराजुसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, पथरी मोरङमा राखिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया