धरान, धरानमा आजबाट स्मार्ट बसपार्क सञ्चालन भएको छ।
लामो समयदेखि बसपार्कको अभाव, जग्गा विवाद र विभिन्न राजनीतिक तथा प्रशासनिक उतार-चढाव पश्चात धरान उप-महानगरपालिकाले धरान–८ मा निर्माण गरिएको अत्याधुनिक स्मार्ट बसपार्क आज उदघाटन भई सञ्चालनमा आएको हो।
कार्यवाहक नगर प्रमुख आन्द्रविक्रम बेघाले बसपार्कको उद्घाटन गर्दै उक्त समारोहमा यो परियोजना कुनै एक व्यक्ति वा नेतृत्वको नभई सम्पूर्ण धरानवासीको साझा उपलब्धि भएको बताए।
यसअघि भानुचोकस्थित बसपार्क साँघुरो बजार क्षेत्रभित्र रहेका कारण यात्रु व्यवस्थापन, सवारी चाप तथा बजार व्यवस्थापनमा समस्या हुँदै आएको थियो। ती समस्यालाई समाधान गर्ने उद्देश्यले करिब २७ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न स्मार्ट बसपार्क निर्माण गरिएको हो।
धरान उप-महानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार अन्डरग्राउन्डसहित तीन तले भवनमा निर्माण गरिएको बसपार्कमा ५० सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, अपाङ्गमैत्री संरचना, महिला तथा पुरुष शौचालय, सीसीटीभीमार्फत सुरक्षा व्यवस्था, १२ वटा एसीयुक्त होटल तथा लज, दुईवटा खुला रेस्टुरेन्ट, कफी शप लगायतका सुविधा रहेका छन्।
यात्रुलाई आवश्यक पर्ने दैनिक सामग्री खरिद गर्न बाहिर जानु नपर्ने गरी आवश्यक व्यावसायिक सेवा समेत व्यवस्थापन गरिएको उनले जानकारी दिए।
कार्यवाहक नगर प्रमुख बेघाले बसपार्क पूर्ण रूपमा व्यवस्थित रूपमा सञ्चालनमा आउन करिब एक महिना लाग्ने बताए।
उनले धरानको विकास कुनै एक व्यक्तिको योगदानबाट सम्भव नभएको उल्लेख गर्दै पूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, समाजसेवी, व्यवसायी, जग्गादाता तथा यातायात व्यवसायी सबैको योगदानको सम्मान गर्नुपर्ने धारणा राखे।
उनले बसपार्क उद्घाटनको अवसरमा पूर्वमेयर स्वर्गीय मनोजकुमार मेन्याङ्बो, निवर्तमान उपमेयर मञ्जु भण्डारी, निवर्तमान मेयर तिलक राई तथा पूर्व नगरप्रमुख हर्क साम्पाङसम्मको योगदान स्मरण गर्दै विकासको काम निरन्तरताको प्रक्रिया भएको बताए। "कसैले एक्लै धर्ती थामेको होइन। एकअर्कालाई दोषारोपण नगरी सहकार्य, समझदारी र प्रेमका साथ अघि बढे मात्रै धरानको विकास सम्भव हुन्छ," उनले भने।
निवर्तमान उपमेयर मञ्जु भण्डारीले आफू कार्यकालमा रहँदा बसपार्क निर्माणलाई प्राथमिकतामा राखिएको स्मरण गर्दै जग्गा विवादका कारण परियोजना अघि बढाउन निकै कठिनाइ भोग्नुपरेको बताइन्।
जग्गादाता, मजदुर, समाजसेवी, विभिन्न राजनीतिक दल तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगले परियोजना अघि बढ्न सकेको उल्लेख गर्दै उनले करिब आठ वर्षपछि धरानवासीको स्मार्ट बसपार्कको सपना साकार भएको बताइन्। साथै बसपार्कको संरक्षण र प्रभावकारी सञ्चालनमा उपमहानगरपालिकाले निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिइन्।
निवर्तमान मेयर तिलक राईले पनि आफ्नो कार्यकालमा बजेट व्यवस्थापन तथा योजनालाई अघि बढाउन उल्लेखनीय प्रयास गरिएको बताए। उनले पूर्व उपमेयर मञ्जु भण्डारीसँगै आफ्नो कार्यकालको योगदानको चर्चा गर्दै पूर्व नगरप्रमुख हर्क साम्पाङको समेत महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
उद्घाटन कार्यक्रममा सांसद हर्क साम्पाङको अनुपस्थिति राजनीतिक असमझदारीको संकेत भएको टिप्पणी गर्दै उनी उपस्थित भएको भए अझ सकारात्मक सन्देश जाने बताए।
कार्यक्रममा धरान–१५ नंबर वडाध्यक्ष नरेशकुमार इन्वारमले बसपार्क निर्माणमा अघिल्ला कार्यकालका जनप्रतिनिधिको पनि समान भूमिका रहेको उल्लेख गर्दै अब यसको प्रभावकारी सञ्चालन र दीर्घकालीन व्यवस्थापनमा सबै राजनीतिक दल, व्यवसायी र नागरिकको साझा दायित्व रहने बताए।
यसैगरी धरान–८ का वडाध्यक्ष राईले बसपार्क भानुचोकबाट धरान–८ सार्ने क्रममा केही समय विवाद र छलफल भए पनि अन्ततः धरान–२ का वडाध्यक्ष रमेश राईको सहकार्यमा हस्तान्तरण प्रक्रिया सम्पन्न भएको बताए।
उनले धरान–८ का स्थानीय, टोल विकास संस्था तथा जग्गादाताको महत्वपूर्ण सहयोगले परियोजना सफल भएको उल्लेख गर्दै बसपार्कले स्थानीय व्यापार र समग्र धरानको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले नयाँ बसपार्कले धरान आउने र यहाँबाट बाहिरिने यात्रुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने बताए। उनका अनुसार बसपार्कमा खानपान, बासस्थान, एटीएम लगायतका सुविधा उपलब्ध भएकाले यसलाई निरन्तर चलायमान बनाउन सबै पक्षको सहकार्य आवश्यक छ।
कार्यक्रमका संयोजक तथा धरान उप-महानगरपालिकाका प्रशासकीय प्रमुख तीर्थराज राईले नयाँ बसपार्क सञ्चालनसँगै यात्रु सेवा थप सहज, व्यवस्थित र आधुनिक हुने विश्वास व्यक्त गर्दै सबै पक्षको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।




प्रतिक्रिया