धरान, धरान उपमहानगरपालिका–९ बगैँचा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवतीलाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले बुधबार राति छापा मारेर २५ वर्षीया फुर्बा भनिने एन्जला गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१७ मंगलबारे घर भई हाल धरान–९ मा डेरा गरी बस्दै आएकी गुरुङलाई धरान–९ स्थित विजय प्रकाश राईको घरमा रहेको डेराबाट नियन्त्रणमा लिइएको हो।
बुधबार राति करिब १० बजे गुरुङको कोठामा खानतलासी गर्दा कोठाभित्र लुकाइ राखिएको अवस्थामा ट्रामोल ९०४ क्याप्सुल, नाइट्राजेपाम ४० क्याप्सुल र कोलिभान १ हजार २६६ क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए।
बरामद लागूऔषधसहित गुरुङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी राईले बताए।



प्रतिक्रिया