सुनसरी, नेपाल चिकित्सक संघ (एनएमए) धरान शाखाद्वारा आयोजित “बेसिक सर्जिकल स्किल कोर्स–२०२६” आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरियम हलमा सफलता पूर्वक सम्पन्न भएको छ।
ताजा जनावरको तन्तु (फ्रेस एनिमल टिस्यु) तथा सर्जिकल सिमुलेटरमा आधारित उक्त व्यावहारिक तालिम बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोग तथा जोनसन एण्ड जोनसन/ईथिकोनको प्रायोजनमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य अध्ययनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आधारभूत शल्यकौशल, प्राविधिक दक्षता र व्यावहारिक क्षमता अभिवृद्धि गर्नु रहेको थियो।
तालिमका लागिआवश्यक सम्पूर्ण सर्जिकल सामग्री प्रायोजक संस्थाले निःशुल्क उपलब्ध गराएको र सहभागीहरूका लागि भोजन तथा खाजाको समेत व्यवस्था गरिएको संस्थाका सदस्य नन्द ठाकुरले दिएका थिए।
स्वागत मन्तव्यको क्रममा एनएमए धरान शाखाका अध्यक्ष डा.अरुण कुमार सिंहले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि यस्ता व्यावहारिक तालिम अत्यन्त आवश्यक रहेको बताए।
उनले निरन्तर चिकित्सा शिक्षा तथा व्यवहारिक प्रशिक्षणमार्फत बिरामी सेवाको गुणस्तर थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको क्षमता विकासमा एनएमए धरान शाखा सदैव प्रतिबद्ध रहने बताए।
तालिममा शल्यचिकित्सा, ईएनटी, नेत्ररोग, ओरल तथा म्याक्सिलोफेसियल सर्जरी, अर्थोपेडिक्स, आपतकालीन चिकित्सा, स्त्री तथा प्रसूति रोग, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी तथा अपरेशन थिएटर सेवासहित विभिन्न विभागमा अध्ययनरत करिब ६० देखि ६५ जना चिकित्सकहरूको सहभागिता रहेको थियो।
तालिम अन्तर्गत आधारभूत शल्यकौशल सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष अभ्यासमा जोड दिइएको थियो। सहभागीहरूले ताजा जनावरको तन्तु तथा सर्जिकल सिमुलेटर मार्फत सिउने, गाँठो बाँध्ने, तन्तु सम्हाल्ने, घाउ बन्द गर्ने लगायतका आधारभूत शल्यक्रियात्मक सीपहरू अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।
यसले भविष्यमा शल्यचिकित्सक बन्ने लक्ष्य राखेका युवा चिकित्सकहरूलाई वास्तविक शल्यक्रियाको वातावरणसँग परिचित गराउनुका साथै आत्मविश्वास र प्राविधिक दक्षता विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
तालिममा डा.रोसन शाह कलवार, डा.बेदप्रकाश साह, डा.धर्मेन्द्र महतो, डा.कमलेश राज, डा.विजय साह, डा.रमेश श्रेष्ठ, दीपक पौडेल, डा.अञ्जनी कुमार यादव, डा.मेहुल राजेश जैसानी, आकाश गिरी, उलव बुढाथोकी लगायतका विशेषज्ञ चिकित्सक तथा अनुभवी अपरेशन थिएटर नर्सिङ र प्राविधिक टोलीले प्रशिक्षण दिएका थिए। सहभागी चिकित्सकहरूले तालिमलाई अत्यन्त उपयोगी, प्रभावकारी तथा सिकाइमूलक रहेको बताएका छन्।
तेस्रो वर्षका अध्ययनरत चिकित्सक सयाप यादवले प्रत्यक्ष रूपमा विभिन्न तन्तुमा अभ्यास गर्न पाउनु, शल्यक्रिया गर्दा कसरी चिर्ने, कसरी सञ्चालन गर्ने तथा अपरेशन पछि कसरी सुरक्षित रूपमा घाउ व्यवस्थापन र सिलाइ गर्ने भन्ने विषयमा विशेषज्ञ सर्जनबाट प्रत्यक्ष प्रशिक्षण प्राप्त गर्नु निकै महत्वपूर्ण अनुभव भएको बताए। उनले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी सहभागी चिकित्सक डा. खुसी शाहले तालिम अत्यन्त अभ्यासमुखी रहेको बताउँदै भविष्यमा सर्जन बन्ने लक्ष्य राखेका चिकित्सकहरूका लागि यस्ता कार्यक्रम प्रेरणादायी र ज्ञानवर्धक हुने धारणा व्यक्त गरिन्।
उनले प्रत्यक्ष अभ्यासबाट धेरै नयाँ कुरा सिक्न पाएको बताउँदै यस्ता तालिमले चिकित्सकहरूको आत्मविश्वास र व्यावसायिक दक्षता बढाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले चिकित्सा शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपको विकास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिम समयको आवश्यकता भएको बताए।
उनले एन.एम.ए. धरान शाखाले अध्ययनरत चिकित्सकहरूका लागि सर्जन बन्न आवश्यक पर्ने आधारभूत शल्यकौशल विकास गर्ने अवसर प्रदान गरेको भन्दै प्रशंसा गरे। यस्ता अभ्यासमुखी कार्यक्रमले युवा चिकित्सकहरूलाई भविष्यको व्यावसायिक यात्रामा थप सक्षम र आत्मविश्वासी बनाउने उनको भनाइ थियो।
कार्यक्रमको सफलताले नेपाल चिकित्सक संघ धरान शाखा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सहयोगी संस्थाहरू चिकित्सा शिक्षा, सीप विकास र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ।
सहभागीहरूको उत्साहजनक उपस्थितिले भविष्यमा पनि यस्ता व्यावहारिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ। चिकित्सा शिक्षालाई थप व्यवहारिक, प्रभावकारी र गुणस्तरीय बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया