धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले मापसे (मादक पदार्थ सेवन गरेर सवारी चलाउने), सवारी साधनमा जथाभावी साउन्ड परिवर्तन गर्ने तथा ट्राफिक नियमविपरीत अतिरिक्त बत्ती जडान गर्ने सवारी साधनमाथि निगरानी र कारबाहीलाई थप तीव्र बनाएको छ।
पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभित्रका विभिन्न चोक तथा मुख्य सडकहरूमा नियमित चेकजाँच अभियान सञ्चालन गरिरहेको जनाएको छ।
सोही अभियानअन्तर्गत मंगलबार साँझ धरान–१५ स्थित सदन स्कुल नजिक गरिएको विशेष चेकजाँचका क्रममा तीन वटा सवारीसाधनका चालक मापासे अवस्थामा फेला परेका छन्।
सहायक प्रहरी निरीक्षक नवराज बास्तोला नेतृत्वको टोलीले सञ्चालन गरेको चेकजाँचका क्रममा दुई वटा मोटरसाइकलमा ट्राफिक नियमविपरीत अनावश्यक रूपमा अतिरिक्त बत्ती जडान गरिएको तथा सवारी साधनको साउन्ड प्रणाली परिवर्तन गरी ध्वनि प्रदूषण फैलाएको भेटिएपछि कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
सहायक प्रहरी निरीक्षक बास्तोलाका अनुसार दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभरका विभिन्न स्थानमा मापासे परीक्षण तथा सवारी चेकजाँचलाई निरन्तरता दिइएको छ। “सवारी चालकमा ट्राफिक नियमको पालना गराउने र दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले नियमित अनुगमन र कारबाही भइरहेको छ,” उनले बताए।
प्रहरी वरिष्ठ हवल्दार रामकुमार शाहका अनुसार चेकजाँचका क्रममा मापासे गरी सवारी चलाउने, सवारी साधनमा नियमविपरीत बत्ती जडान गर्ने तथा साउन्ड मोडिफाइ गरी ध्वनि प्रदूषण फैलाउने चालकलाई ५०० रुपैयाँदेखि १५०० रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था रहेको छ।
उनका अनुसार मापासे कसुरमा पहिलो पटक पक्राउ परे पाँच सय, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो पटक एक हजार पाँच सय सम्म जरिवाना हुने व्यवस्था छ। कसुरको प्रकृति र अवस्था हेरी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनसमेत गर्न सकिने कानुनी प्रावधान रहेको उनले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुखले पछिल्लो समय वर्षायामसँगै सडकको अवस्था बिग्रँदै गएको, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने गतिविधिका कारण दुर्घटनाको जोखिम बढेकाले जिल्लाभर मापासे परीक्षण तथा सवारी चेकजाँच अभियानलाई थप प्रभावकारी बनाइएको बताए।
उनले ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि प्रहरीको अभियान निरन्तर सञ्चालन हुने स्पष्ट पारे।



प्रतिक्रिया