धरान, पूर्वको खेलप्रेमी सहरका रूपमा परिचित धरानमा विश्व फुटबलको महाकुम्भप्रति उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। 

विश्वकपमा सहभागी ४८ राष्ट्रका झण्डाहरू सडकभरि टाँगेर धरान–२ देशीलाइन क्षेत्रका स्थानीय व्यवसायी तथा युवाहरूले विश्वकपको रौनकलाई अझ विशेष बनाएका छन्।

मंगलबार बिहानैदेखि देशीलाइनको मुख्य सडक विभिन्न देशका रंगीन झण्डाले सजिएको छ। स्थानीय खेलप्रेमी, व्यवसायी तथा युवाहरूको सक्रियतामा गरिएको यस अभियानले विश्वकपप्रतिको आकर्षण मात्र होइन, खेलमार्फत विश्व एकताको सन्देशसमेत दिएको छ।

स्थानीय एकता फोटो स्टुडियोका सञ्चालक विजय राईका अनुसार विश्वकपमा सहभागी सबै राष्ट्रप्रति सम्मान व्यक्त गर्दै र खेलाडीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले ४८ देशका झण्डाहरू सडकमा सजाइएको हो। “धरान खेल र खेलाडीको सहर हो। 

विश्वकपको माहोललाई अझ उत्साहजनक बनाउन हामीले सहभागी राष्ट्रहरूको झण्डा राखेर खेलप्रेमीहरूलाई एक ठाउँमा जोड्ने प्रयास गरेका छौं,” उनले बताए।

धरान लामो समयदेखि फुटबल संस्कृतिका लागि परिचित रहँदै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको यस सहरमा हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपले पनि फुटबलप्रतिको मोहलाई थप मजबुत बनाएको छ। यही कारण विश्वकप सुरु भएसँगै धरानका क्याफे, रेस्टुरेन्ट तथा सार्वजनिक स्थलहरू खेलप्रेमीहरूको जमघटले भरिन थालेका छन्।

हरेक साँझ युवादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न स्थानमा भेला भएर आफूले समर्थन गर्ने टोलीको खेल हेर्ने, विश्लेषण गर्ने तथा विश्वकपको रोमाञ्च साझा गर्ने क्रम बढेको देखिन्छ। कतिपय समर्थकहरू आफ्नो मनपर्ने राष्ट्रको जर्सी लगाएर तथा झण्डा बोकेर खेल हेर्न पुग्ने गरेका छन्।

यसपटकको विश्वकप ४८ टोलीको सहभागितासहित आयोजना भइरहेको छ, जसले प्रतियोगितालाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनाएको छ। विश्वका उत्कृष्ट खेलाडीहरूबीचको प्रतिस्पर्धा, नयाँ प्रतिभाको उदय तथा फुटबलप्रेमीहरूको अभूतपूर्व सहभागिताले विश्वकपलाई विश्वकै सबैभन्दा लोकप्रिय खेल महोत्सवका रूपमा स्थापित गरेको छ।

धरानमा देखिएको यो उत्साहले फुटबलप्रतिको गहिरो लगाव मात्र नभई खेलले समाजलाई एकताबद्ध बनाउन सक्ने शक्तिलाई पनि उजागर गरेको छ। 

विश्वकप अवधिभर देशीलाइन क्षेत्र झण्डाले सुसज्जित रहने र विभिन्न कार्यक्रममार्फत खेलप्रेमीहरूलाई थप उत्साहित बनाइने स्थानीय युवाहरूले बताएका छन्।