मोरङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिएको भन्दै सडकमै धान रोपेर विरोध प्रदर्शन गरेका छन्।
मङ्गलबार स्थानीयवासीले वर्षौंदेखि हिलाम्मे र जोखिमपूर्ण बनेको सडकमा धान रोप्दै नगरपालिकाको ध्यानाकर्षण गराएका हुन्।
उनीहरूका अनुसार वर्षायाममा सडकको अवस्था झन् दयनीय बन्ने गरेको छ, जसका कारण पैदल यात्रु, सवारीसाधन तथा विद्यार्थी बोक्ने स्कुल बस र एम्बुलेन्ससमेत आवतजावत गर्न कठिन हुने गरेको छ।
स्थानीय रिता भट्टराईका अनुसार सडकको समस्या समाधानका लागि पटक–पटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गरिए पनि कुनै प्रभावकारी पहल नभएपछि बाध्य भएर धान रोपेर विरोध जनाउनुपरेको हो।
त्यस्तै स्थानीय सरोज बस्नेतले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मत तथा स्तरोन्नतिका लागि मौखिक र लिखित रूपमा पटक–पटक अनुरोध गर्दा समेत सम्बन्धित निकायबाट बेवास्ता भएको गुनासो गरे। उनका अनुसार सडकमा सामान्य मर्मत गरी मिसगिटी हालिए पनि तत्काल राहत मिल्ने अवस्था रहे पनि त्यसतर्फ समेत ध्यान दिइएको छैन।
स्थानीय खेमकुमारी गौतमले आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले दैनिक भोग्दै आएको समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको स्पष्ट पारिन्।
स्थानीयवासीले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न वडा कार्यालय र नगरपालिकासँग माग गरेका छन्।
समयमै समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।



प्रतिक्रिया