धरान, सहिद स्मृति माध्यमिक विद्यालय धरानले विद्यार्थीहरूको बौद्धिक तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिर जवाफ तथा विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरू सम्पन्न गरेको छ।

विद्यालय सञ्चालन भएको करिब डेढ महिनापछि विद्यार्थीहरूले अध्ययन गरेका पाठ्यक्रमका आधारमा प्रश्न छनोट गरी हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

हाजिर जवाफ प्रतियोगितामा कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा ग्रुप डी प्रथम हुन सफल भएको थियो। उक्त समूहबाट उमेश खड्का, मनिष राई र रितिका ओझा विजेता बने।

त्यसैगरी ग्रुप सी दोस्रो स्थान हासिल गर्न सफल भयो। उक्त समूहमा सन्दिक्षा श्रेष्ठ, प्रशान्त चौधरी, सायल शिवा, रितिका भण्डारी र युना बस्नेत सहभागी थिए।

यस्तै ग्रुप बी तेस्रो स्थानमा रह्यो। उक्त समूहबाट खेमराज दर्जी, रक्सान खातुन, दिनेश थापा, सोनिया मादेन र सुगम कार्की विजेता बनेका थिए।

विद्यालयका शिक्षक सौगात राईका अनुसार विद्यार्थीहरूले एक महिनाको अध्ययनपछि कति ज्ञान हासिल गरेका छन् भन्ने मूल्यांकन गर्नुका साथै व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको हो।

त्यसैगरी कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूका लागि म्युजिकल चेयर प्रतियोगिता पनि सञ्चालन गरिएको विद्यालयकी शिक्षिका सिमरन तुम्बाम्फेले जानकारी दिइन्। प्रतियोगितामा कक्षा ४ की रियासा खड्का प्रथम, संगीता भण्डारी दोस्रो तथा कक्षा ५ की काव्या खनाल तेस्रो भएकी छन्।

अर्कोतर्फ कक्षा ६ र ७ तर्फको म्युजिकल चेयर प्रतियोगितामा कक्षा ६ की प्रशंसा चौधरी प्रथम, एलेक्स परियार दोस्रो तथा रिजन विश्वकर्मा तेस्रो बनेका छन्।

विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा सिकाउने तथा उनीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राम बिष्टले बताए।