धरान, अनलाइन मिडिया एसोसिएसनको आयोजनामा एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी एक दिने आधारभूत प्रशिक्षण आज सम्पन्न भएको छ।
धरान उप-महानगरपालिकाको सभाहलमा सम्पन्न प्रशिक्षणमा धरानका करिब २५ जना पत्रकारहरूको सहभागिता रहेको थियो।
पछिल्लो समय एआईको बढ्दो प्रयोगसँगै समाचार सम्प्रेषणमा देखिन सक्ने त्रुटि, गलत सूचना तथा सत्य–तथ्यमा असर पर्न सक्ने विषयमा प्रशिक्षण गरिएको थियो।
समाचार लेखनमा शुद्धता र तथ्यपरकता अत्यन्त आवश्यक हुने भएकाले पत्रकारहरूलाई एआईको सही प्रयोगबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष स्वर्णिम हाङ लिम्बुले बताए।
कार्यक्रममा प्रशिक्षक लिलाराज भट्टराईले एआईले दिने सूचनाको विश्वसनीयता, गलत सूचना छुट्याउने तरिका तथा पत्रकारितामा एआई प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए।
उनले एआई उपयोगी भए पनि त्यसमा पूर्ण रूपमा निर्भर हुँदा विभिन्न समस्या निम्तिन सक्ने भएकाले तथ्य परीक्षण अनिवार्य रहेको बताए।
प्रशिक्षणको उद्घाटन धरान उप-महानगरपालिकाका कार्यवाहक मेयर आन्द्रविक्रम बेघाले गरे। उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले पछिल्लो समय एआईको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यसको सही उपयोगबारे पत्रकारहरूलाई प्रशिक्षण दिनु सकारात्मक र आवश्यक कदम भएको बताए।
कार्यक्रममा सुनसरी पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्लेको समेत उपस्थिति रहेको थियो।



प्रतिक्रिया