धरान, बैशाख शुक्ल पूर्णिमाको अवसरमा आज देशका विभिन्न स्थानमा किराँत समुदायले उभौली चाड तथा बौद्ध धर्मावलम्बीहरूले बुद्ध पूर्णिमा श्रद्धा र उत्साहका साथ मनाएका छन्।

किराँत राई, लिम्बू, याक्खा, सुनुुवारलगायत समुदायको महत्वपूर्ण पर्व उभौली चाड विशेष गरी प्रकृतिप्रति आस्था प्रकट गर्दै मनाइने गरिन्छ। 

यस अवसरमा किराँत राईले साकेला (साकेवा) नृत्य प्रस्तुत गरी भूमी, पानी, जंगल तथा पूर्वजप्रति कृतज्ञता व्यक्त गरिन्छ। उभौली पर्वले खेतीपातीको सुरुवात तथा उकालो लाग्ने मौसमको संकेत गर्ने विश्वास रहिआएको छ।

यसैगरी, आजकै दिन बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) पनि परेकोले बौद्ध धर्मावलम्बीहरूले भगवान् सिद्धार्थ गौतम वुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गर्दै विभिन्न धार्मिक कार्यक्रम आयोजना गरेका छन्। लुम्बिनी, स्वयम्भू, बौद्धनाथ लगायतका स्थलहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

देशका विभिन्न स्थानमा उभौली चाड र बुद्ध पूर्णिमा एकै दिन परेकाले धार्मिक तथा सांस्कृतिक वातावरण झनै उल्लासमय बनेको छ। सांस्कृतिक झाँकी, नृत्य, भजन–कीर्तन तथा पूजाआजा गरी मानिसहरूले आ–आफ्नो परम्परा अनुसार पर्व मनाएका छन्।

विशेष गरी पूर्वी नेपालका धरान, धनकुटा, भोजपुर, इलाम लगायतका क्षेत्रमा साकेला नृत्यको आकर्षण देखिएको छ। समुदायका युवा–युवतीहरू परम्परागत पोशाकमा सजिएर सामूहिक रूपमा नृत्यमा सहभागी भएका थिए।

यस अवसरमा विभिन्न संघ–संस्थाहरूले शान्ति, सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिँदै समाजमा सद्भाव कायम राख्न अपिल गरेका छन्।

बैशाख पूर्णिमा केवल धार्मिक पर्व मात्र नभई नेपालजस्तो बहुसांस्कृतिक देशमा विभिन्न समुदायबीचको एकता, सम्मान र सहअस्तित्वको प्रतीकका रूपमा पनि मनाइन्छ।